नेपालकै यस्तो गाउँ जहाँ, साठी घर घरका लागि एउटै शौचालय छ

जुम्ला, १२ माघ । चन्दननाथ नगरपालिका–५ कामीटोलका ६० घरधुरीले एउटै शौचालय प्रयोग गर्ने गरेका छन् । नगरपालिकाले निर्माण गरेको शौचालयले मात्र उनीहरूलाई पर्याप्त भएको छैन् ।

उक्त बस्तीमा बस्ने घरबाहेक अन्य शौचालय निर्माण गर्ने जमीन नभएका कारण सामूहिक शौचालय प्रयोग गर्न बाध्य भएका हुन् । स्थानीय ज्ञानबहादुर विकको परिवारलाई हरेक दिन बेलुका सुतिसकेपछि भोलि बिहानको कामभन्दा पहिले शौच गर्ने चिन्ता हुने गर्दछ ।

ज्ञानबहादुर बिकले भने, “घरमा शौचालय छैन, खुला शौच गर्न पाइँदैन । टोलमा भएको एउटै शौचालयमा जो पहिले पुग्यो, त्यसैले शौच गर्न पाउँछ । शौच गर्नकै लागि बिहानै उठ्नुपर्ने अवस्था छ । आफूलाई शौच लागेको बेला शौचालयमा हुल हुन्छ, घरमा शौचालय बनाउने जग्गा पनि छैन ।” उनले गुनासो गरे ।

ज्ञानबहादुर जस्तै सदरमुकाममा अवस्थित कामीटोल टोलका ६० घरपरिवारले विगत धेरै वर्षयता एउटै शौचालय प्रयोग गर्दै आएका छन् । सबै टोलवासीले एउटै शौचालय प्रयोग गर्दा घण्टौँ लामबद्ध बस्नुपर्ने बाध्यता रहेको अर्का स्थानीय चन्द्रलाल सुनार बताउँछन । दलित समुदायको बाहुल्य रहेको उक्त टोलका स्थानीयले एउटै सार्वजनिक शौचालय प्रयोग गर्दै आएपछि यस्तो समस्या भोग्नुपरेको हो ।

त्यो टोलका दलित समुदायले भोग्दै आएको शौच गर्ने समस्या समाधानका लागि चन्दननाथ नगरपालिकाको सहयोगमा आधुनिक शौचालय निर्माण गरिएको छ । वडाध्यक्ष अर्जुनसिंह कठायतका अनुसार रु १० लाख लागतमा निर्माण हुने आधुनिक शौचालयमा सोलार, विद्युत्, चिसोतातो नुहाउने पानीसहित आवश्यक सामग्रीका साथ महिला, पुरुष छुट्टाछुट्टै अपाङ्ग र बालमैत्री शौचालय निर्माण गरिएको छ । दुईतलामा निर्माण शौचालय माथिल्लो छ कोठा शौच गर्नका लागि र तल्लो तलामा व्यापारिक प्रयोजनका लागि प्रयोग हुन्छन् ।

शौचालय निर्माण सम्पन्नपछि चौकीदारको व्यवस्था गरिएको छ । सोही टोलका ६० घरधुरीले निःशुल्क र अन्यले न्यूनतम शुल्कमा शौच गर्छन्, उनले भने । शौचालय चन्दननाथ गुठीको नाममा रहेको सार्वजनिकजग्गामा निर्माण गरिएको छ ।

Loading...