संसदमै मुठभेट हुनसक्ने गगन थापाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले भोलि बस्ने संसद बैठकमा मुठभेट हुनसक्ने भन्दै चेतावनी दिएका छन् । उनले सभामुखको भूमिका र सरकारको जिम्मेवारीप्रति औँला उठाउँदै यस्तो चेतावनी दिएका हुन् ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार गरेको साक्षात्कारमा बोल्दै उनले चिकित्सा शिक्षा विधेयकको लागि सभामुख कृष्णबहादुर महराको संसदभित्रको भूमिका चित्तबुझ्दो नभएको भन्दै गुनासो पोेखेका छन् । उनले भने, ‘सभामुखको भूमिका न्यायपूर्ण हुनुपर्ने हो तर, दुःखका साथ भन्नुपर्दा हामीले सभामुखको भुमिकाबाट यो कुरालाई महसुस गर्न सकेका छैनौँ’ ।

साक्षात्कारमा बोल्दै उनले चिकित्सा शिक्षा विधेयक अरु विधेयकभन्दा फरक भएको उल्लेख गरे । ‘जुन विधेयक अनशनबाट डा. गोविन्द केसीसँग सम्झौता भइसकेपछि सदन चलेको बेला शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सदनमा यो सम्झौता टेबुल नगर्ने बेलासम्म, यो सदन अगाडि बढ्दैन भनेर सदनमा टेबल गरेर सबैलाई बाँडेर यो सदनको सम्पत्ति भयो भनेपछिमात्रै त्यो अगाडि बढेको छ । त्यसकारण प्रश्न यहाँ, सरकारको मात्रै होइन, प्रश्न यहाँ संसदको पनि हो’, थापाले भने ।

नेकपाकै नेता र सांसदहरुले भोलि सदनमा यस्तो–यस्तो हुन्छ भनेर घोषणा गरिरहेको भन्दै उनले कडा टिप्पणी गरे । ‘यहाँबाट फतवा जारी राख्नुभएको छ । यस्तो–यस्तो हुन्छ भनेर, के व्यवस्थापिका–संसदको सभामुख कुनै अमुक पार्टीको अमुक कार्यकर्ता हो रु पार्टीको निर्देशनबाट, बाहिर खुल्लामञ्चबाट, खुल्ला ठाउँबाट योभन्दा मानमर्दन केही हुन्छ रु’, उनले भने

थापाले मुठभेट गर्छु भन्छ भने त्यो बेलामा प्रतिउत्तर दिनेभन्दा आफूहरुसँग अर्को विकल्प नहुने स्पष्ट पारे । ‘त्यो दुर्भाग्यपूर्ण स्थिति नआओस भन्ने हामी अहिलेपनि चाहन्छौं’, उनले थपे ।

कांग्रेसले डा. गोविन्द केसीसँग भएका सम्झौताहरु अक्षरशः पालना नभएसम्म संसदको काम–कारबाही अघि बढ्न नदिने अडान दोहोर्‍याएको छ । कांग्रेस केन्द्रीय कार्यासमितिको बिहीबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले स्व. गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताललाई संघीय सरकारअन्तर्गत् राख्नुपर्ने माग पनि राखेको छ ।

यी दुईओटा माग पूरा नभएसम्म संसद चल्न नदिने निर्णय कांग्रेस बैठकले गरेको हो । बैठकमा नेविसंघको वर्तमान केन्द्रीय कार्यसमितिको म्याद थप्ने विषयमा पनि छलफल भएको छ । यसैबीच, पार्टीको बैठक चलिरहेका बेला नेपाल विद्यार्थी संघको एउटा पक्षले पार्टी कार्यालय सानेपामा विरोध प्रदर्शन गरेको थियो ।

प्रदर्शनमा सहभागीले नेविसंघको कार्यसमितिको म्याद पटक–पटक थपिएको भन्दै महाधिवेशन गरेर विवाद टुंगो लगाउनुपर्ने माग गरेका थिए ।

Loading...