कसले फेरि उठाउदैछ हतियार ? बहिर्गमित जनमुक्ति सेनाको यस्तो खुलासा

काठमाडौं । बहिर्गमित जनमुक्ति सेना विभिन्न माग राखेर सडकमा निस्किएका छन् । उनीहरुले माघ १० लाई कालो दिनको रुपमा मनाएका छन् ।

विहीबार काठमाडौँको माईतिघर मण्डलमा आफूहरुलाई राज्यले अपमान गरेको भन्दै बहिर्गमित जनमुक्ति सेनाका सदस्यहरुले विरोध प्रदर्शन गरेका छन् । कालो पट्टी र विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर बहिर्गमित जनमुक्ति सेना नेपालका पदाधिकारीसहित सदस्यहरु विरोधमा उत्रिएका थिए । उनीहरुले आफूहरुका लागि शान्तिप्रक्रिया नटुंगिएको दाबी समेत गरे ।

जनयुद्धका धेरै लडाइँमा कुशलतापूर्वक लडेपनि अयोग्य बनाएर घर फर्काइएको भन्दै उनीहरु विरोध गर्दै आएका छन् । आफूहरुमाथि लगाइएको अयोग्य बिल्ला खारेजी गरी राज्यले सम्मानजनक व्यवहार गर्नुपर्ने, स्वेच्छिक अवकास लिएको जनमुक्ति सेना सो सरह राहात प्याकेज उपलब्ध गराउनु पर्ने, घाइते, अपाङ्गलाई दिर्घकालिन व्यवस्थापनलगायत १८ बुँदै मागसहित उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

 

विरोध सभालाई जनमुक्ति सेना नेपालका अध्यक्ष असिम लिम्बू ‘सुनिल’ले राज्यले आफूहरूको जायज मागलाई बेलैमा सम्बोधन नगर्ने हो भने अर्को विद्रोह जन्मिने बताए । उपाध्यक्ष योग्य बहादुर कार्की ‘प्रदिप’ले अयोग्य घोषणा गरेर ब्यारेकबाट निकालिएका जनमुक्ति सेनाको व्यवस्थापन नगरेर सरकारले ठूलो भुल गरेको बताए । शान्तिप्रक्रिया टुंगोमा नपुगेको भन्दै प्रदिपले सरकारले समयमै नसोचे आफूहरु फेरि हतियार उठान बाध्य हुने प्रदिपले चेतावनी दिए ।

कार्यक्रममा संगठनका महासचिव राजन थापा ‘सुवास’ले विदेशीको इशारामा सरकारले आफूहरुमाथि अयोग्यको बिल्ला भिराएको बताउँदै फेरि लडाइँ जानुको विकल्प नएको बताए ।

 

विरोध प्रदर्शनमा बहिर्गमित जनमुक्ति सेनाका सदस्यहरुले यूएनलाई नेपालमा बस्ने अधिकार नभएको भन्दै फिर्ता हुन भनेका थिए ।
पहिलो पटक बहिर्गमित जनमुक्ति सेनाले पूर्वजनमुक्ति सेनाको ब्यारेकमा भएको भनिएको भ्रष्टाचारको छानविनको माग गरेका छन् ।

शान्तिप्रक्रियालाई टुंगोमा पुर्याउने भन्दै २०६६ माघ १० गते ४ हजार ९ जना जनमुक्ति सेनाका सदस्यहरुलाई अयोग्य भन्दै घर फर्काइएको थियो । त्यसपछि उनीहरु हालसम्म विरोधमा छन् । सरकारले पटक पटक व्यवस्थापन गर्ने भनेपनि अहिलेसम्म बेवास्ता गरेको भन्दै बहिर्गमित जनमुक्ति सेना संगठन खोलेर विरोधमा छन् ।

Loading...