चेकजाँच सरकारी अस्पतालमा, ‍‌औषधि किन्न मेडिकलमा पठाउँछन चिकित्सक

जाजरकोट । डोल्पाको ठूलिभेरी नगरपालिका ११ का पदम कार्की श्रीमती बिरामी भएर उपचारका लागि जिल्ला अस्पताल पुगे। जाँच त जिल्ला अस्पतालमै भयो तर औषधि भने नभएको बताइयो। कार्कीले मेडिकल पुगेर औषधी किने।

औषधी छैन भन्दै सबै बिरामीलाई मेडिकलमा पठाएको देखेँ’, उनले भने, ‘जाँच मात्र हुने तर औषधl मेडिकलमा किन्नुपर्ने कस्तो अच्चम्म रहेछ!’ कार्की मात्र होइन जिल्ला अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामी औषधि मेडिकलमा किन्न बाध्य भएको गुनासो गर्छन्।

सरकारले जिल्ला अस्पतालमा ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भने पनि मेडिकलमा किनेर उपचार गर्न बाध्य छन्। दैनिक आवश्यकीय १५ प्रकारको औषधी नहुँदा दैनिक उपचार गर्न समस्या भएको जिल्ला अस्पताल डोल्पाका निर्मित प्रमुख हिमविक्रम शाहीले बताए। गाउँ–गाउँबाट बिरामी भएर आएका स्थानीयहरुको जाँच गरेपनि निःशुल्क उपलव्ध हुँने औषधी नहुँदा रित्तो हात फर्काउनु परेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ।

कर्णाली प्रदेश सरकारको मातहतमा भदौदेखि आएको जिल्ला अस्पतालले ठूलिभेरी नगरपालिकाबाट पनि सोचे जस्तो सहयोग नपाएको स्थानीयको भनाइ छ। ‘दैनिक बिरामी जाँच गरी औषधि बाहिर किन्न पठाउँदा हामीलाई पनि दु:ख लाग्छ’,असिष्टेन्ट फर्मासिस्ट वीरचन्द्र बोहोराले भने, ‘जिल्ला अस्पतालमा तीन हप्तादेखि औषधि अभाव छ।’

दैनिक बिरामीको चाप बढेसँगै औषधि नहुँदा उपचारमा समस्या परेको उनले बताए। पुस १४ गते डोल्पा जिल्ला अस्पतालबाट औषधी चोरी भएको समाचार प्रशासित भए पनि हालसम्म कारबाही प्रक्रिया अगाडि बढेको छैन। स्थानीय सरकार गठन भएदेखि नै स्थानीय सरकारको खातामा औषधि खरिद देखि कर्मचारीको तलब सम्मको पैसा आउने गरेको छ।

यता कर्णाली प्रदेश सरकारले औषधी खरिदका लागि जिल्ला अस्पताल डोल्पालाइ उपलब्ध गराएको रकमबाट औषधि खरिद प्रक्रिया हुन लागेको चिकित्सक सिजन रावलले बताए। औषधि खरिदको जिम्मा नगरस्वास्थ्य शाखालाई दिएकोले केही दिनमा औषधि आउने बताए। भदौदेखि डोल्पाको जिल्ला अस्पताल प्रदेश मातहतमा समाहित भएको छ।

Loading...