साफ फुटबल तयारीका क्रममा नेपाली महिला राष्ट्रिय टोलीले भारतसँग खेल्ने

काठमाडौँ, ९ माघ । साफ फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले भारत र थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार नेपालले भारतीय फुटबल महासङ्घको निमन्त्रणामा भारतमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । भारतको उडिसा राज्यको भुवनेश्वरमा आगामी फेब्रुअरी ७ देखि १७ तारिखसम्म उक्त प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित आयोजक भारत, श्रीलङ्का र म्यानमा सहभागी हुनेछन् । दक्षिण एसियाली फुटबल प्रतियोगिता र ओलम्पिक छनोटको तयारीमा रहेको नेपालले उक्त प्रतियोगितालाई तयारीका रूपमा लिएको छ ।

साफमा अहिलेसम्म उपाधि जित्न नसकेको नेपाल आफ्नै घरमा आयोजना हुने प्रतियोगिता जित्ने लक्ष्यका साथ पूर्व राष्ट्रिय खेलाडी हरि खड्काको प्रशिक्षणमा रहेको छ ।

यसैबीच साफअघि नेपालले थाइल्यान्डमा समेत मैत्रीपूर्ण फुटबल खेल्ने तयारी गरेको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार थाइल्याण्ड फुटबल सङ्घसँग मैत्रीपूर्ण खेलका लागि वार्ता भइरहेको छ । साफ च्याम्पियनसिपको समूह ‘ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश, पाकिस्तान र भूटान छन् । समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलङ्का छन् ।

नेपाली टोलीका प्रशिक्षक खड्काले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलले टोलीको मनोबल बढ्ने बताए ।

Loading...