‘मोस्ट वान्टेड’ सूचीमा रहेका चाैधरीको मोटरसाइकलमा भाग्दै गर्दा आज बिहानै प्रहरीको गोली लागेर मृत्यु

राजविराज, ९ माघ । प्रहरीले लामो समयदेखि मोस्ट वान्टेडको सूचीमा राखेर खोजेका एक व्यक्ति प्रहरीकै गोलीबाट मारिएका छन् । सप्तरीकाे राजविराज–रुपनी सडकखण्डस्थित रुपनी चोकदेखि एक किलोमिटर दक्षिणतर्फ आज बुधवार बिहानै ४ बजेतिर गोली चलेको हो ।

बुधबार बिहानै सप्तरीको रुपनी नजिक प्रहरीले गोली हानेर मोस्ट वान्टेड सूचीमा रहेका दिपेन्द्र चौधरी मारिएका हुन् । सप्तरीकै कडोरवनाका करिव ३० वर्षीय दिपेन्द्र चौधरीलाई प्रहरीले लामो समयदेखि खोज्दै आएको थियो । उनी तराईका धेरै घटनामा जोडिएको प्रहरी दावी छ ।

खोज्दै जाने क्रममा बुधवार बिहान सदरमुकाम राजविराजबाट रुपनीतर्फ चौधरी जाँदै गरेको सूचना पाएपछि प्रहरी एलर्ट भई चेकजाँचमा बसेको थियो । बिहान उज्यालो नहुँदै चौधरी आफ्ना एक सहयोगीलाई बाइक चलाउन लगाएर बाइकको पछाडि बसेर गइरहेको प्रहरीले फेला पारेको थियो । जाँचका क्रममा रोक्न खोजेपछि चौधरीले प्रहरीमाथि नै गोली चलाएर भाग्न थालेपछि प्रहरीले गाेली पनि गाेली चलाएकाे सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र बिष्टले जानकारी दिएका छन् ।

टाउकाेमा गाेली लागेका चाैधरीकाे घटनास्थलमै मृत्यु भएकाे बताइएकाे छ । गोली लागेर बाइकको पछाडि बसेका चौधरी खसे पनि माेटरसाइकल चालक भने भाग्न सफल भएको बताइएको छ ।

चौधरी यसअघि एक प्रहरी हवल्दारको हत्यामा सम्लग्न भएको सप्तरी प्रहरीले जनाएको छ । यही माघ २ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत प्रहरी हबल्दार महेन्द्र प्रताप यादवलाई गोली हानेर हत्या गरिएको थियो । सोही घटनामा चौधरीको संलग्नता रहेको प्रहरीको दाबी छ। त्यतिबेला प्रहरी हवल्दार यादवकाे हत्या ‘प्रगतिशील तराई मुक्ति मोर्चा समूह’ले गरेकाे दावी गरिएकाे थियाे । 

गत बुधबार साँझ साढे आठ बजेको समयमा खडक नगरपालिका–८ विशनपुर चोकमा मोटरसाइकलमा आएका २ व्यक्तिको समूहले हबल्दार महेन्द्र प्रताप यादवमाथि गोली प्रहार गरेको थियो। हत्या गरिएका प्रहरी हबल्दारको खोजी कार्य प्रहरीले तीब्र पारेको र यही क्रममा चौधरी भेटिएको बिष्टले जानकारी दिए ।

यस्तै, प्रहरी कारबाहीमा मारिएका चौधरी २०७२ सालमा सप्तरीको झुटकी प्रहरी चौकीका असई रेसम सुब्बाको गोली हानी हत्या तथा इलाका प्रहरी कार्यालय कडोरवनाको गाडीलाई लक्षित गरी बम बिस्फोट लगायतका घटनामा संलग्न रहेका थिए। सो घटनापछि चौधरी प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा थिए।

Loading...