गुरुङ भाषा र संस्कृति संरक्षणमा गुरुङ समुदाय

मेलम्ची, ८ माघ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ भोटेनाम्लाङमा तमु धिं बेल्जियमको आयोजनामा गुरुङ भाषा कक्षा सञ्चालन शुरु भएको छ । गुरुङ समुदायको आफ्नो भाषा तथा संस्कृति लोप भएपछि यसलाई जीवन्त राख्न उक्त कक्षा सञ्चालन गरिएको हो ।

तमु धिं नेपालका महासचिव गिरीप्रसाद गुरुङले मातृभाषा सिक्नलाई कुनै पनि उमेर समूहले नछेक्ने बताए । उनले सबै गुरुङ समुदायलाई आफ्नो मातृभाषा सिक्न आग्रहसमेत गरे । उनले आफूले सिकेका भाषाहरु आफ्ना पुस्तालाई हस्तान्तरण नगर्नाले गुरुङ भाषा र गुरुङ संस्कृति हराउँदै गएको भन्दै गुरुङ भाषालाई जीवन्त राख्न सबैले आफ्नो भाषा र संस्कृति पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्ने समेत बताए ।

तमु धिं बेल्जियमका महासचिव गरुडध्वज गुरुङ (जिमी गुरुङ) ले गुरुङ भाषा नबुझ्नाले आफूले बेल्जियममा पाएको दुःख र गुरुङ हुँ भनेर चिनारीका लागि गरेको सङ्घर्षकोे स्मरण गर्दै आफूले जस्तै दुःख अरुलाई नपरोस् भन्नका लागि जन्मथलोमा भाषा कक्षा सञ्चालनको शुरुआत गरिएको बताए ।

भाषाविद् रत्नबहादुर गुरुङले गुरुङहरुको पहिचान धेरै भएकाले भाषा सिक्न पनि आग्रह गरे । उनले सिकाउनुभन्दा पनि सिक्नु ठूलो कुरा भएकाले सबैले ध्यान दिएर भाषा सिक्नलाई आग्रह गरे । आफू गुरुङ भएर पनि गुरुङ भाषा बोल्न नजानेकामा स्थानीयवासी देवराज गुरुङले दुखेसो गरे । उनले अब आफ्नो संस्कृति र भाषा जोगाइराख्न युवाहरु मिलेर लागिपर्नुपर्ने बताउँदै गुरुङ भाषा संरक्षणका लागि सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरे । आफ्नो भाषा र संस्कृतिको पुनर्जन्म हुनलागेको भन्दै स्थानीयवासीले खु्शी व्यक्त गरेका थिए ।

तीन महीनासम्म दुई चरणमा सञ्चालन हुने भाषा कक्षामा गमबहादुर गुरुङ र मीनबहादुर गुरुङले प्रशिक्षण दिनुहुने छ । प्रशिक्षणमा आमाबुबाहरुका लागि एक चरण र युवा एवं बालबालिकाका लागि एक चरण गरी दुई चरणमा भाषा कक्षा सञ्चालन गर्न लागिएको स्थानीयवासी प्रकाश गुरुङले जानकारी दिए ।

Loading...