दुर्गम क्षेत्रमा निःशुल्क आँखा उपचार गर्न फत्तेबालको साझेदारी

बाँके, ८ माघ । बाँके र बर्दिया जिल्लालाई अन्धोपनमुक्त बनाउने उद्देश्यले फत्तेबाल आँखा अस्पताल, नेपालगञ्जले विभिन्न निकायसँग साझेदारी गरिहरहेको छ । अस्पतालले दुई जिल्लाका ग्रामीण तथा दुर्गम क्षेत्रमा निःशुल्क आँखा उपचार तथा सहुलियतसहितको मोतिविन्दु छनोट शिविर सञ्चालन गरिरहेको जनाएको छ ।

स्थानीय निकाय, विभिन्न सङ्घसंस्था, बंैक, सहकारी, प्रहरी, सेना, पेशागत सङ्गठन, समाजसेवी, उद्योगी, व्यवसायीलगायतसँग सहकार्य गरिरहेको अस्पतालका प्रबन्ध निर्देशक डा कौशलकुमार बर्माले जानकारी दिए । बाँकेको डुडुवा गाउँपालिकाको प्रत्येक वडामा एकदिने शिविर सञ्चालन भइरहेको उनले जानकारी दिए ।

अस्पतालले यसअघि सम्बन्धित स्थानीय निकायसँगको सहकार्यमा बर्दियाको राजापुर, ठाकुरबाबा, गुलरिया, बाँसगढी नगरपालिका तथा बाँकेको कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका क्षेत्रमा निःशुल्क आँखा उपचार तथा सहुलियतसहितको मोतिविन्दु छनोट शिविर सञ्चालन गरिसकेको डा बर्माले जानकारी दिए ।

त्यसैगरी लायन्स क्लब अफ मिडटाउनसँगको सहकार्यमा नेपालगञ्जको बसपार्क, नेपाल राष्ट्रिय सेवा दलको सहकार्यमा ढोडेपुर्वामा एकदिने निःशुल्क शिविर सञ्चालन गरिसकिएको छ । निर्देशक डा बर्माका अनुसार पौरखी बहुउद्देशीय सहकारी संस्थाको सहकार्यमा माघ १६ गते नेपालगञ्जको कारकाँदोमा निःशुल्क शिविर सञ्चालन हुँदैछ ।

स्थानीय निकायको सहकार्यमा बाँकेको जानकी, राप्तीसोनारी, बैजनाथ गाउँपालिका, नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडा तथा बर्दियाको बारबर्दिया नगरपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गर्नका लागि समन्वय भइरहेको निर्देशक डा बर्माले बताए ।

हालसम्म सञ्चालन गरिएका शिविरबाट चार हजार ३३७ बिरामीको निःशुल्क आँखा परीक्षण तथा उपचार गरिएको छ भने एक हजार १६ लाई सहुलियतसहितको शुल्कमा मोतियाविन्दुको शल्यक्रियाका लागि फत्तेबाल आँखा अस्पतालमा पठाइएको छ ।

Loading...