कन्हैया कुमार विरुद्ध १२ सय पृष्ठ लामो देशद्रोहको अभियोग दर्ता

नयाँदिल्ली । जवाहरलाल नेहरु विश्वविद्यालयमा सन् २०१६ मा देशद्रोही नारा लगाएको भन्दै विद्यार्थी नेता कन्हैया कुमार, उमर खालिद, अनिर्वाण भट्टाचार्य लगायत १० जना विरुद्ध भारतीय प्रहरीले अभियाेग दर्ता गरेकाे छ ।

आतंकवादीको नाममा फाँसी दिइएका अफजल गुरुको स्मृतिमा क्याम्पसभित्र भएको कार्यक्रमका बीच उनीहरुले देशद्रोही नारा लगाएको भन्दै त्यसको तीन वर्षपछि १२ सय पृष्ठ लामो अभियाेग दर्ता गरेको हो ।

राज्यले आतंकवादी भनिएका अफजल गुरुको स्मृतिमा कार्यक्रम गर्दै देशद्रोही नारा लगाइएको उनीहरुविरुद्ध आरोप छ । प्रहरीले जेएनयूका पूर्व छात्रसंघ अध्यक्ष कन्हैया कुमार, उमर खालिदसँगै अन्य ७ विद्यार्थीहरुलाई आरोपित बनाएको छ । विद्यार्थी नेता कन्हैया कुमारले भने प्रधानमन्त्री नरेन्द्र मोदी र प्रहरीलाई यस कामको लागि आफू धन्यवाद दिन चाहेको भन्दै यो राजनीतिबाट प्रेरित कदम भएको बताएका छन् ।

यस क्रममा कन्हैया कुमारले भनेका छन्, ‘म मोदीजी र प्रहरीलाई धन्यवाद दिन चाहन्छु । ३ वर्षपछि चुनावको ठीक अघि मुद्दा दायर गरिएको घटना हेर्दा प्रष्ट हुन्छ कि यो राजनीतिबाट प्ररित छ । तर म आफ्नो देशको न्यायपालिकाप्रति विश्वास गर्छु ।’

उजुरीमा सिपिआई नेता डी राजाकी छोरी अपराजिता राजा, पूर्व छात्रसंघ उपाध्यक्ष शहला रशीद लगायत ३६ जनाको नाम समेत उल्लेख छ । तर उनीहरुविरुद्ध कुनै प्रमाण नभेटिएकाले सोधपुछका लागि बोलाउन सकिने बताइएको छ ।

पटियाला अदालतमा दायर भएको मुद्दा मंगलबार नै सुनुवाई हुने बताएको छ । नेता डी राजाले पनि यसलाई राजनीतिबाट प्रेरित भएको टिप्पणी गरेका छन् । मुद्दा लागेका कुनै पनि विद्यार्थीहरु देशद्रोही गतिविधिमा सामेल नभएको उनको भनाइ छ । जेएनयूमा सन् २०१६ फेब्रुअरी ९ मा वामपन्थी विद्यार्थीको समूहले देशद्रोही नारा लगाएको भन्दै प्रहरीले थुप्रै विद्यार्थी नेताहरुलाई पक्राउ गरेपछि उनीहरु रिहा भएका थिए ।

Loading...