३३ किलो सुन प्रकरणमा जोडिएका ९ न्यायाधिशलाई काज सरुवा मात्र

काठमाडाैं । ३३ किलाे सुन प्रकरणमा जाेडिएका ९ जना न्यायाधिश सरुवामा परेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिका शुद्धीकरण अभियानका क्रममा विराटनगर उच्च अदालतका पाँच जना न्यायाधीशसहित  ९ न्यायाधीशलाई बिहीबार काज सरुवा गरेका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार उचित न्यायसम्पादन नगरेको भन्ने न्यायपरिषद्मा आएका उजुरीका आधारमा नौ न्यायाधीशलाई काज सरुवा गरिएको हो।

यसअघि, उचित न्यायसम्पादन गरेको नदेखिएपछि ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमङ्गल आत्रेयलाई न्यायपरिषद् सचिवलायमा तानिएको थियो।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नोे कार्यभार सम्हालेलगत्तै न्यायिक अनुगमन तथा निगरानी संयन्त्र बनाएका थिए। सोही अनुगमनका क्रममा सही कार्यसम्पादन नगरेको पाएपछि नौ उच्च अदालतका न्यायाधीशलाई सरुवा गरिएको हो।

साढे ३३ किलो सुनकाण्डमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिने विराटनगर उच्च अदालतका पाँचजना न्यायाधीशलाई न्यायपरिषद सचिवालयमा तानिएको हाे। कारबाहीमा पर्ने न्यायाधीशहरुमा नागेन्द्र लाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेल छन्।

बिहीबार नै काज सरुवाकाे पत्र सबै न्यायाधिशलार्इ बुझाइएकाे बताइएको छ। बिहीबार दिनभर न्यायिक काममा संलग्न रहेका पाचै जनाले  शुक्रबारबाट मुद्धा हेर्न नमिल्ने बताइएको छ।

सुन तस्करी प्रकरण र सनम शाक्य हत्याकाण्डमा मोरंग जिल्ला अदालतको आदेशमा थुनामा रहेका अभियुक्तहरुलाई छाड्ने आदेश दिने उच्चका न्यायाधीशहरुको सरुवा भएको हो।

Loading...