स्वास्थ्य अवस्था निकै गम्भीर बनेपछि सेनाको नाइटभिजन हेलिकोप्टरबाट काठमाडौ ल्याइए डा. केसी

काठमाडाैं । इलाममा अनसन बसेका डा. गोविन्द केसीको स्वास्थ्यस्थिति गम्भीर बनेपछि नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरबाट रातारात काठमाडौं ल्याइएको छ । निमोनियाबाट पीडित भएका डा केसीलाई राती नै गएको नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरले आज बिहान ३ बजे काठमाडौं ल्याएको हो।

डा. केसी संसदमा पेस भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति असहमति जनाउँदै इलाममा गएर अनशन बसेका थिए । उनलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको आईसीयूमा भर्ना गरिएको छ ।

इलामबाट झापाको ‘भद्रपुरसम्म एम्बुलेन्समा ल्याएर त्यहाँबाट उनलाई सेनाको हेलिकोप्टरबाट ल्याइएको हो । टिचिङ अस्पताल महाराजगञ्जले उनको अवस्था गम्भीर रहेको जनाएको छ ।

स्रोतका अनुसार काठमाडौं ल्याइएपछि डा. केसीले आइसियुमा भर्ना हुन मानेका थिएनन । उनले टिचिङमा पहिले अनसन बसेकै स्थानमा अनसन बस्ने चाहना राखेका थिए । तर, उनको गम्भीर स्वास्थ्य अवस्था हेरेर केदारभक्त माथेमा लगायतले आग्रह गरेपछि उनी आईसीयूमा बस्न राजी भएको बताइएको छ।

बिहीबार डा केसीको स्वास्थ्य अवस्था बुझ्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतका व्यक्तिहरु इलाम पुगेका थिए। सो टोलीले केसीलाई काठमाडौं ल्याउन पहल गरेको थियो ।

इलाममा अनसन बसेका डा. केसीको अवस्था गम्भीर बनेको खबरपछि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ डाक्टरको टोली इलाम पुगेको थियो । सो टोलीले डा. केसीको स्वास्थ्य अत्यन्त गम्भीर भएकाले तुरुन्त सुविधायुक्त अस्पतालमा लैजान सुझाब दिएको थियो । त्यसपछि काठमाडौंबाट नागरिक समाजको एक टोली इलाम पुगेको थियो ।

इलाम अस्पतालका डाक्टरले यसअघिदेखि नै डा। केसीलाई आईसीयू आवश्यक भइसकेको तर इलाम अस्पतालमा यो सुविधा नभएको बताउँदै आएका थिए।

धरानका डाक्टरहरूले केसीलाई धेरैथरी समस्या देखिएको बताउँदै उनको स्वास्थ्य अवस्थाबारे ९ बुँदे पत्र स्वास्थ्य मन्त्रालयलाई बुझाएका छन्।

चिकित्सकका अनुसार डा। केसीको रगतमा चिनीको मात्रा ५० मिलिग्राम प्रतिडेसीलिटरभन्दा कम छ। सामान्य मान्छेको सुगर ५० भन्दा कम भए बेहोस हुने र दिमागले काम गर्न छाड्ने समस्या आउनसक्छ।

डा। केसीको रगतमा अक्सिजनको मात्रा पनि कम हुँदै गएको छ। सामान्यतया रगतमा अक्सिजनको मात्रा ९५ प्रतिशतभन्दा बढी हुनपर्छ।

तर केसीको रगतमा ८० प्रतिशत हाराहारीमा रहेको र घन्टैपिच्छे घटबढ भइरहेको उनको स्वास्थ्य जाँचको बीपी प्रतिष्ठानका चिकित्सकले बताएका छन्।

Loading...