शनिवार राती प्रहरी खोजीका यी ‘मोस्ट वान्टेड’ कसरी मारिए

काठमाडौं । विभिन्न फौजदारी मुद्दामा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका एक कुख्यात अपराधी प्रहरी इनकाउन्टरमा मारिएका छन्।

शनिबार राति तस्करी हुन लागेको सूचनाको आधारमा प्रहरीले नाकामा चेकजाँच गर्ने क्रममा प्रहरी उपर फायरिङ्ग गरेपछि विभिन्न मुद्दामा फरार रहेका सिद्धार्थनगर नगरपालिका ६ का केदार साहानी प्रहरी इनकाउन्टरमा मारिएको प्रहरी स्रोतले जानकारी दिएको हो।

रुपन्देहीका एसपी हृदय थापालेका अनुसार मोटरसाइकल आएका दुई व्यक्तिले एकाएक प्रहरी उपर फायरिङ्ग गरेपछि जवाफी कारबाहीमा साहानी मारिएका हुन्। मोटरसाइकलमा सवार रहेका दुई जनामध्ये एक जना फरार भएको उनको भनाइ छ।

मोटउनीहरु सवार युपी ५३ एच २०२८ भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। साथै उनीहरुले प्रयोग गरेको एक थान अटोमेटिक पेस्तोल र चेम्बरमा एक थान तथा म्यागजिनमा रहेको ३ थान गोली बरामद भएको उनले बताए।

मारिएका साहानी विगतमा तत्कालीन नेकपा माओवादीसँग आवद्ध थिए। त्यसपश्चात उनी जनतान्त्रिक तराई मुक्ति मोर्चा आजाद समूह (भूमिगत समूह) प्रवेश गरी चन्दा आतंकमा सक्रिय थिए।

राजनितिक दलमा आवद्ध हुनु अघि उनी सीमानाका क्षेत्रको तस्करीमा सक्रिय थिए। कपिलवस्तु जिल्लामा पनि दायर रहेको एक फौजदारी मुद्दामा प्रहरी नियन्त्रणबाट उनी फरार भएर भारत पुगेका थिए। उनलाई नेपाल प्रहरीले वर्षौदेखि मोस्ट वान्टेड सूचीमा राखेर खोजी जारी राखेको थियो।

साहानी उपर कर्तव्य ज्यान, बम विस्फोट, चन्दा–फिरौतीलगायत मुद्दा रहेका छन्। उनले २०७१ साल भदौ २८ गते भैरहवाका आकाश गुरुङ्गलाई अपहरण गरेका थिए। अपहरण गरेर परिवारसगँ एक करोड रुपैयाँ फिरौती मागेपछि परिवारले दिन नसक्ने बताउँदा नवलपरासीको बर्दघाट जंगलमा असोज ११ गते गुरुङको शव फेला परेका थियो। घटनामा संग्लन रहेका केही अभियुक्तलाई प्रहरीले पक्राउ गरेर अदालतमा अपहरण तथा कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो।

कसरी भयो घटना ?

पछिल्लो समय प्रदेश ५ का जिल्लाहरुमा तस्करी बढेको खबरहरु आइरहेको थियो । प्रहरीले चोर–तस्करमाथि निगरानी बढायो, गस्ती टोलीहरु व्यापक परिचालन भएका थिए ।

शनिबार राति सिद्धार्थनगर–१०, शंकरापुरमा पनि गस्ती टोलीले आउने जाने सम्पूर्ण सवारी साधानलाई चेकजाँच गरिरहेको थियो । यूपी ५३ एच २०२८ नम्बरको प्लेट भएको मोटरसाइकल उनीहरु छेउ आयो, जसको गतिविधि अन्य सवारी साधानभन्दा भिन्न थियो । प्रहरी देखेपछि मोटरसाइकलको गति बढेको थियो ।

त्यहाँ खटिएका प्रहरीले रोक्न खोज्यो तर, आफूमाथि गोली प्रहार भएपछि जवाफ कारबाही गरिएको प्रहरीले जनाएको छ । घटनामा घाइते भएका सहनीलाई अस्पताल लैजाने कोसिस गरिएको भएपनि बाटैमा मृत्यु भएको प्रहरीको दाबी छ ।

सहनीको अपराध यात्रा

अनुसन्धान अधिकारीहरु सहानीलाई प्रहरी मुठभेडमा मारिएका मनोज पुनभन्दा गम्भीर प्रकृतिको अपराधी मान्छन् । एक अनुसन्धान अधिकारी भन्छन्, ‘उनी कुख्यात अपराधी थिए ।’ प्रहरीको क्रिमिनल रेकर्ड सिस्टममा भएको अभिलेख अनुसार २३ असार ०६५ मा उनी कपिलवस्तुमा अटोमेटिक पेस्तोल र गोलीसहित समातिएका थिए । जिल्ला प्रशासन कार्यालयले १५ भदौमा थुनामा राख्न कपिलवस्तु कारागार पठायो ।

तर, उनीसहित अपराधीहरुको एउटा समूह २ माघ ०६६ मा कारागारबाट सुरुङ खनेर भाग्न सफल भयो । त्यसयता प्रहरीले उनलाई खोजी रहेको थियो तर, उनी पक्राउ परको थिएनन् । उल्टै अपराधिक गतिविधि बढाउँदै लगिरहेका थिए ।

सशस्त्र समूह सक्रिय रहेका बेला उनी जनतान्त्रिक मुक्ति मोर्चा आजाद समूहमा आबद्ध भए । उनले रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका क्षेत्रका व्यापारीलाई धम्क्याएर चन्दा असुली गर्न थाले । भारतीय सीमावर्ती क्षेत्रमा बसेर नेपालमा अपराधको रजगज चलाउँदै आएका उनले २८ भदौ ०७१ मा सिद्धार्थनगर–८ का मेनपावर सञ्चालक आकाश गुरुङको अपहरणसमेत गरेका थिए ।

सहानीको समूहले १ करोड फिरौती माग गर्दै चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका दक्षिणी क्षेत्रका घर तथा होटलहरुमा गुरुङलाई लुकाएर राखेको थियो । वैदेशिक रोजगारीका क्रममा कोरिया बसेर फर्किएका गुरुङबाट ठूलो रकम हात पार्न सकिने उनीहरुको आश थियो । तर, प्रहरीले खबर पायो । गुरुङ एक पटक अपहरणकारीको कब्जाबाट उम्कन सफल पनि भएका थिए ।

अपहरणकारीले उनलाई समात्न सफल भए र, गोली हानेर गुरुङको हत्या गरियो । जसको भिडियो समेत बनाइएको थियो र सीडी परिवारलाई पठाइएको थियो । घटनाको ६ दिनपछि ११ भदौमा महेन्द्र राजमार्गको भूताहा बजारदेखि करिब ४ किलोमिटर उत्तरमा रहेको सामुदायिक वनमा नचिनिने अवस्थामा शव भेटियो ।

घटनामा संलग्न ५ जना पक्राउ परेका थिए तर, लामो समयसम्म सहानीको कनेक्सन खुलेको थिएन । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट गएको टोलीले घटनामा जेलबाट भागेका सहानीको कनेक्सन भेटेको थियो । त्यसयता उनीमाथि विभिन्न अनुसन्धान अधिकारीहरुले निगरानी राखे पनि ट्रेस भएका थिएनन् ।

केही महिनाअघि गुरुङकी आमाले उनलाई देखेको भन्दै प्रहरीलाई खबर गरेकी थिइन् । तर, प्रहरीले यकिन गर्न सकेको थिएन । अन्ततः उनी शनिबार राति प्रहरीसँगको झडपमा मारिए ।

Loading...