भारतमा अखिलेश–मायावतीबीच गठबन्धन बनेपछि मोदी निकै तनावमा, राहुल खुसी

लखनउ । भारतमा समाजवादी पार्टी (सपा) र बहुजन समाज पार्टी (बसपा)ले आगामी लोकसभा निर्वाचनका लागि गठबन्धन गरेका छन्। सपा अध्यक्ष अखिलेश यादव र बसपा अध्यक्ष मायावतीले संयुक्त प्रेस सम्मेलनमा उक्त घोषणा गरेका हुन्। उनीहरूले उत्तर प्रदेशमा लोकसभाका ८० सिटमध्ये ३८-३८ मा मिलेर निर्वाचन लड्नेछन्।

बाँकी ४ सिटमध्ये सोनिया गान्धी र राहुल गान्धीका निर्वाचन क्षेत्र अमेठी र रायबरेलीमा उम्मेदवारी नदिने बताएका छन्। अरु २ सिट अन्य दलका लागि छोडिएको बसपा नेतृ मायावतीले बताइन्। सन् १९९३ मा मिलेर भारतीय जनता पार्टी (भाजपा)लाई हराएजस्तै योपटक पनि सत्ताबाट बाहिरै राख्ने उनले दाबी गरिन्।

सन् १९९३ मा सपा र बसपा मिलेर भाजपाविरुद्ध निर्वाचनमा उत्रिएका थिए। भावी प्रधानमन्त्रीको उम्मेदवार को हो भन्ने प्रश्नमा अखिलेशले गोलमटोल जवाफ दिए। प्रायः उत्तर प्रदेशले भारतीय प्रधानमन्त्री बनाउने भएकाले यहीँकै हुने उनले जवाफ दिए।

दुवै नेताले विगतको दुश्मनी बिर्सिएर अगाडि बढेको चर्चा गरे। जनताको हितका लागि विगतका दुश्मनी भुलेर सपासँग गठबन्धन गर्नुपरेको उनको भनाइ छ। मायावतीले भनिन्, ‘सन् १९९३ मा काशीराम र मुलायमसिंह यादवले गठबन्धन गरी भाजपा जस्तो साम्प्रदायिक र जातिवादी दललाई हराउनुभएको थियो। त्यसैगरी भारतलाई सशक्त बनाउन अहिले पनि गठबन्धन गरेका छौं।’

सपा–बसपा गठबन्धनले भाजपा र यसका नेता नरेन्द्र मोदीलाई सत्ताबाट बहिर्गमन गराउने दाबी गरिन्। उनले यो गठबन्धन भारतको राजनीतिक क्रान्तिको शुरुवात भएको चर्चा गरिन्।

गठबन्धन दुईवटा दलको मिलन मात्र नभई सर्वसमाजको एकता भएको बताउँदै सामाजिक परिवर्तनको संवाहक हुने धारणा व्यक्त गरिन्। कंग्रेस भ्रष्टाचारी दल भएकाले ऊसँग गठबन्धन नगरिएको उनीहरूको भनाइ छ। स्वतन्त्रतापछि केन्द्र र अधिकांश राज्यमा कंग्रेसले एकछत्र शासन गरेको र त्यसबाट गरिबी, बेरोजगारी र भ्रष्टाचार मात्र बढेको हुनाले ऊसँग गठबन्धन नगरिएको उनीहरूको कथन छ।

नेता अखिलेशले यो गठबन्धनबाट अत्तालिएर आफूमाथि विभिन्न मुद्दा लगाइनसक्ने आरोप लगाए। यसैअन्तर्गत आफूमाथि उत्खनन मामिलामा अनुसन्धान शुरु भएको बताए। सरकारले दंगा भड्काउन सक्ने उनको भनाइ छ।

बसपा र सपाको गठबन्धनबारे प्रतिक्रिया दिँदै कांग्रेस अध्यक्ष राहुल गान्धीले उत्तर प्रदेशमा आफ्नो पार्टी पूरै शक्ति लगाएर लोकसभाको तयारीमा जुट्ने बताए । आफूहरुसँग उत्तर प्रदेशका जनतालाई दिन धेरै रहेको राहुल गान्धीको भनाई छ ।

अखिलेश र मायावतीका बारेमा टिप्पणी गर्दै राहुल गान्धीले भने, ‘सपा र बसपाका नेताप्रति मेरो मनमा सम्मान छ र उहाँहरु जे गर्न चाहनु हुन्छ त्यसको स्वतन्त्रता पनि छ ।’

शनिबार अखिलेश र मायावतीले संयुक्त पत्रकार सम्मेलन गरी गठबन्धनको घोषणा गरेका थिए । उनीहरुले कांग्रेसप्रति कडा रुपमा प्रस्तुत हुँदै भनेका थिए, ‘कांग्रेसले केन्द्र र राज्यमा धेरैपटक सत्ता चलायो तर पछि परेका तथा शोषितको हितमा काम गरेन ।’

Loading...