तीन जिल्ला जोड्ने गरी बनाएको नेपालकै पहिलो त्रिकोणात्मक पुल अलपत्र

काठमाडौं, २८ पुस । पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रिडीमा बन्न थालेको नेपालकै पहिलो त्रिकोणात्मक झोलुंगे पुल अलपत्र परेको छ । देशकै नमूना पुलका रुपमा बनाउन थालिएको रिडी पुलले पर्यटनमा ठूलो टेवा पुर्याउने आशा पनि गरिएको थियो ।

स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयसँग निर्माण कम्पनीले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो । गत २०७१ सालमा सम्झौता गरिएको पुल निर्माण कार्य चार वर्ष बितिसक्दा समेत बनेन ।

रिडी खोला र कालीगण्डकीको संगमस्थलमा पुल निर्माण हुँदा तीन जिल्लाका बासिन्दालाई आवतजावत गर्न सहज हुनुका साथै पर्यकीय गन्तव्यका रुपमा समेत विकास गर्ने लक्ष्य सरकारले लिएको छ ।

नयाँ बाटो निर्माण सेवा प्रालि÷रुविना निर्माण प्रालि र मना कन्स्ट्रक्सन एन्ड विल्डर्स जेभीमध्ये मना कन्स्ट्रक्सन एन्ड बिल्डर्सले पुल निर्माणको जिम्मेवारी लिएको छ । पुल निर्माणमा ढिलासुस्ती गरेपछि सस्पेसन ब्रिज डिभिजनले केही समय अघि मात्र किन कारबाही नगर्ने भन्ने सूचना नै प्रकाशित गरेको थियो ।

सूचना प्रकाशित गरेर स्पष्टीकरण लिएसँगै एक वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले गरेको छ । मना कन्स्ट्रक्सन एन्ड विल्डर्सका सञ्चालक महेन्द्र अधिकारीले आगामी एक वर्षको अवधिमा पुल निर्माणको काम सम्पन्न हुने बताउँछन । उनी भन्छन– ‘प्राविधिक कारणले समयमा पुल निर्माण हुन नसकेको हो, अब धमाधम काम भइरहेको छ एक वर्षभित्र सम्पन्न हुन्छ ।’

पुल निर्माणअन्तर्गत चार वर्षको अवधिमा बीचको पिलर निर्माणको काम मात्र भएको छ । बीचमा रहेको २५ मिटर अग्लो पिलरको १६ मिटर ९जमिनभन्दा मुनि० को फाउन्डेसन मात्र निर्माण भएको छ । म्याद थप भएसँगै पुल निर्माणको कामलाई निर्माण कम्पनीले अगाडि बढाएको छ ।

पुल निर्माणको काम समयमा नै सम्पन्न गर्न निर्माण कम्पनीलाई दबाब दिइरहेको सस्पेन्स ब्रिज डिभिजन कार्यालयका इन्जिनियर प्रवेश रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘पुल निर्माण कार्यमा ढिलाइ भएपछि हामीले कारबाही गर्न सूचना नै प्रकाशित गरेका थियौं, अहिले एक वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले गरेको छ ।’ करिब ११ करोडको लगानीमा निर्माण हुन लागेको झोलुङ्ले पुलको एकतर्फको लम्बाई १ सय ७७ मिटर रहेको छ । तीनतर्फकै गरी ५ सय ३१ मिटर लामो हुनेछ ।

Loading...