नेविसंघको विवाद चरम चुलीमा, ८ पदाधिकारीको सामूहिक राजीनामा

काठमाडौं, २८ पुस । अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै नेपाल विद्यार्थी संघका ८ जना पदाधिकारीले सामूहिक राजिनामा दिएका छन् । यससँगै नेपाली कांग्रेसको विद्यार्थी संगठनभित्रको विवाद फेरि चरम चुलीमा पुगेको छ ।

शुक्रबार पार्टी सभापति शेरबहादुर देउवासमक्ष उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र अच्युतराज कलौनी लगायतले सामूहिक राजिनामा पेश गरेका हुन । उनीहरुले वर्तमान कार्यसमितिले १२औं महाधिवेशन गर्न नसकेको आरोप लगाएका छन् । महाधिवेशन नै गर्न नसक्ने देखिएपछि निकास दिन आफूहरुले राजीनामा दिएको जानकारी उनीहरुले दिएका छन् ।

नेविसंघको १२औं महाधिवेशन अनिश्चित भएपछि विघटनको संघारमा पुगेको छ । गत भदौमा म्याद सकिएको नेविसंघ केन्द्रीय समितिको महाधिवेशन गर्नका लागि भनी कांग्रेसले पटकपटक म्याद थप्दै आएको छ ।

विधानलाई लत्याउँदै पटकपटक म्याद थप गर्दा समेत १४ जिल्लाको भन्दा बढी अधिवेशन गर्न नसकेपछि नेविसंघ केन्द्रीय समिति स्वतः विघटनको संघारमा पुगेको हो । महाधिवेशनका लागि सभापति शेरवहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको जुहारी नै चलेको थियो । विना तयारी र विधानविपरीत नेविसंघको म्याद थप्दै जानु विधानविपरीत मात्र नभई लोकतान्त्रिक प्रक्रिया माथिको प्रहारको रुपमा रहेको पौडेल पक्षले ठहर गरेको छ ।

‘यसरी विधानविपरीत नेविसंघको म्याद थप्दै जाने हो भने भोलि नेपाली कांग्रेस केन्द्रीय समितिको म्याद नथपिएला भन्न सकिन्न’ –संस्थापन इतर पक्षका विद्यार्थी नेता मोती भण्डारीले बताए । ।

कांगे्रस महासमितिबाट सभापति देउवा र वरिष्ठ नेता पौडेल बीच मेलमिलाप भएको घोषणा गरिएपनि नेविसंघको सन्दर्भले फेरि शीर्ष तहमा झगडा निम्तिने निश्चित भएको छ । सभापति देउवाले बहुमतबाट केन्द्रीय समितिमा ३२ वर्ष तोकेपछि झगडा झाङ्गिदै गएको थियो ।

वरिष्ठ नेता पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला, अर्जुनरसिंह केसी, प्रकाशमान सिंहले असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका थिए । पछिल्लो समय देउवाले भ्रातृ संगठनमा आफ्नो पकड गुमाउँदै गएपछि सबैभन्दा शक्तिशाली भ्रातृ। संगठन नेविसंघको महाधिवेशन नगर्ने निष्कर्षमा पुगेको वताइन्छ ।

पटक पटक नेविसंघको केन्द्रीय समितिको म्याद थप गर्ने र अनुकूल समयमा केन्द्रीय समिति भङ्ग गरी तदर्थ समिति गठन गर्ने तयारी रहेको देउवा निकट मानिने विद्यार्थी नेता सरोज थापाले वताउनुभयो ।

अध्यक्ष नैनसिंह महरले महाधिवेशन गर्ने र स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउन नसक्ने जिकिर गर्दै नेविसंघमा पार्टीले समयमै विकल्प खोज्नुपर्ने दाबी गरिएको छ ।

Loading...