निगममा रहँदा पदको दुरुपयोग गरी अकूत सम्पति आर्जन गरेको भन्दै खड्का विरुद्ध अख्तयारको मुद्दा

काठमाडौं, २४ पुस । पदकाे दुरुपयाेग गरी अकूत सम्पति अार्जन गरेकाे र ठूलाे रकम भ्रष्टाचार गरेकाे भन्दै नेपाल अायल निगमका पूर्व कार्यकारी निर्देशक गाेपाल खड्का विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएकाे छ ।

अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगले विशेष अदालतमा मुद्दा दायर गर्नै खड्काले गैरकानुनी रुपमा साढे १८ कराेड ६६ लाख ५ हजार रुपैयाँ अार्जन गरेकाे अाराेप लगाएकाे छ । खड्काले इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा साे रकम अनियमितता गरेको बताइएकाे छ ।

करिब १५ महिना लगाएर अनुसन्धान गरेको आयोगले खड्काले गैरकानुनी रुपमा अुकत सम्पत्ति आर्जन गरेको ठहर गर्दै उनले गैरकानुनी रूपमा आर्जन गरेको चलअचल सम्पत्ति जफत गर्न पनि माग गरेको छ। खडकाका बारेमा संसद्को सार्वजनिक लेखा समितिले पनि छानबिन सुरु गरेकाे थियाे । समितिले जग्गा खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको थियो।

अनुसन्धानपछि अख्तियारले १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६(ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजायको माग राखेर आरोपपत्र दायर गरेको हो।

खड्का सार्वजनिक सेवामा प्रवेश गरेपश्चात् समग्र आय र व्ययको विश्लेषण गर्दा गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए। ‘अन्य व्यक्तिको नाममा लुकाई राखेको सात करोडभन्दा बढीको सम्पत्तिसमेत जफतको माग दाबी गरिएको छ,’ दंगालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

खड्काले जग्गा खरिदमात्र नभएर निगममा रहँदा ग्यास उद्योग, ग्यास ढुवानी गर्ने बुलेट, पेट्रोल पम्प, पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर सञ्चालन अनुमति दिँदा पनि मोटो रकम लिएर अनियमितता गरेको आरोप लागेको थियो। खड्काविरुद्ध मुद्दा दायर गरिए पनि जग्गा खरिद भ्रष्टाचारको विषयमा अख्तियार मौन देखिएको छ। जग्गा खरिदलगायतका अन्य पक्षमा अनुसन्धान जारी रहेकाले अहिले अकुत सम्पत्तिमा मात्रै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता दंगालले बताए।

खड्का सार्वजनिक सेवामा प्रवेश गरेदेखि विभिन्न शीर्षकमा गरेको खर्च तथा लगानी २७ करोड ३० लाख ७५ हजार तीन सय ८० रुपैयाँ देखिन आएको अख्तियारले जनाएको छ। लगानीमा खड्काको स्रोत खुलेको आम्दानी आठ करोड ६४ लाख ६९ हजार सात सय ५१ रुपैयाँ देखिए पनि १८ करोड ६६ लाख पाँच हजार ६ सय २९ रुपैयाँ खर्च तथा लगानीको स्रोत नखुलेपछि मुद्दा दायर गरको अख्तियारको दाबी छ।

खड्काले खर्च तथा लगानीमा वैध आय घटाउँदा बाँकी हुन आएको रकम गैरकानुनी आर्जन भएको प्रवक्ता दंगालले ज्ञारी गरेको विज्ञप्तिमा उल्लेख छ। निगमको जग्गा खरिदलाई केन्द्रमा राखेर अनुसन्धान गरेको अख्तियारले अन्ततः जग्गा खरिद प्रकरणमा भएका अन्य पक्षलाई छाडेर खड्कालाई अकुत सम्पत्तिमा मात्र मुद्दा चलाएको छ।

सडक विभागको पूर्वइन्जिनियरसमेत रहेका खड्काले पुख्र्यौली घरबाहेक आफ्नो जागिरे जीवनमा काठमाडौंमा तीनवटा घर निर्माण तथा खरिद गरेको र दुईवटा घर खरिदका लागि आंशिक भुक्तानी दिएको भेटिएको अख्तियारले जनाएको छ। खड्काले निगमको जग्गा खरिदपछि दुईवटा घर किन्न बैना लगाएको यसअघि नै सार्वजनिक भएको थियो। खड्काले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको भेटिएको अख्तियारले जनाएको छ। खड्काले एक निर्माण कम्पनीलाई घर खरिद गर्न बैना दिएको ८९ लाख ८९ हजार रुपैयाँ दसीका रुपमा आरोपपत्रका साथ अदालतमा दाखिल गरेको समेत अख्तियारले जनाएको छ।

खड्काले घरजग्गा खरिदमा ११ करोड ६१ लाख ४३ हजार दुई सय ५ रुपैयाँ, विभिन्न कम्पनीका सेयर खरिद गर्न एक करोड ६ लाख चार हजार, विभिन्न व्यक्ति तथा संस्थालाई दिएको चन्दा तथा सहयोग एक करोड १७ लाख ७५ हजार, छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा भएको २५ लाख १४ हजार ६ सय ९५ रुपैयाँ, गाडी खरिदमा एक करोड १७ लाख ४२ हजार, विभिन्न बैंकका एटिएमबाट सुपरमार्केटहरूमा एक करोड ८० लाख १६ हजार चार सय ४६ रुपैयाँ खर्च गरेको देखिएको छ। त्यसैगरी विभिन्न ५५ भन्दा बढी बैंक तथा वित्तीय संस्था र सहकारीमा खड्काका नाममा दुई करोड ७१ लाख ५३ हजार चार सय २१ रुपैयाँ भेटिएको छ।

खड्काले आफ्नी श्रीमती शर्मिला खड्काको मात्र नभएर अर्की एक महिलाका नाममा समेत सम्पत्ति लुकाएर राखेको अख्तियारले फेला पारेको छ। तेह्रथुम घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका ४ बस्ने अमिता लामा सोदेम्बाको नाममा समेत सम्पत्ति लुकाएर राखेको भेटिएको हो।

खड्काले लामाको नाममा काठमाडौंको हात्तीगौडामा सिजी हिल्सले बनाएको तीन करोड २५ लाख रुपैयाँको घर, बूढानीलकण्ठ–३ मा ४० लाख ११ हजार ८ सय ७५ रुपैयाँमा किनेको ८ आना जग्गा र ८४ लाख ४६ हजार रुपैयाँमा किनेको बा१६च ८४८४ नम्बरको टक्सन गाडी पनि जफत गर्न माग गरिएको छ। लामाको नाममा जग्गासमेत सात करोड ५४ लाख ५७ हजार आठ सय ७५ रुपैयाँको सम्पत्ति लुकाएर राखेको भेटिएको छ। लामाको नाममा रहेको एनएमबी बैंक र सिटिजन बैंकका खाताबाट पनि खड्काले नै कारोबार गर्ने गरेको भेटिएको छ।

सेवा प्रवेश गरेदेखि २०६९ चैत २ गतेसम्मको खड्काको आम्दानी एक करोड २० लाख १३ हजार चार सय ९९ रुपैयाँ देखिएको थियो। त्यसयता खड्काको आम्दानी ४० लाख ५७ हजार एक ५५ रुपैयाँ भेटिएको छ। खड्काले पारिश्रमिक, जग्गा बिक्री, सापटी, अवकाश हुँदा पाएको आर्थिक सुविधा, गाडी बिक्री, छोराबुहारीको आम्दानी देखाउँदा पनि अस्वाभाविक देखिएको अख्तियारले जनाएको छ।

खड्काले गरेको अनियमितता विषयमा नागरिक दैनिकले समाचार सार्वजनिक गरेपछि खड्काले आफ्नो गाली बेइजती भएको भन्दै नेपाल रिपब्लिक मिडियाविरुद्ध ८० करोड रुपैयाँको माग दाबी गर्दै मुद्दा दायर गरेका थिए। खड्का कार्यकारी निर्देशक हुँदा निगमले चितवन, झापा, सर्लाही र भैरहवामा एक अर्ब ९७ करोड ८१ लाख रुपैयाँको जग्गा खरिद गरेको थियो। तत्कालीन समयमा अनियमितताको आरोपमा खड्कालाई सरकारले बर्खास्त गरेको थियो। अदालतको आदेशपछि पुनः आयल निगम फर्किएका खड्कालाई सरकारले आपूर्ति मन्त्रालयमा तानेको थियो। त्यसको लामो समयपछि खड्काले राजीनामा दिएका थिए।

Loading...