त्रिशूली विद्युत् गृहमा आगलागी हुँदा उत्पादन बन्द

नुवाकाेट, १९ पुस । नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी भएको छ। आगलागीपछि विद्युत् उत्पादन बन्द भएको छ। २१ मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योजनाका रूपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्रसमेत बन्द हुँदा राष्ट्रिय प्रसारण लाइनमा ३५ मेगावाट विद्युत् गिरावट आएको छ।

बुधबार साँझ ६ः३० बजे उत्पादन गृहको विद्युत् प्रवाह हुने बसबारमा ताप उत्पन्न भएर आगो लाग्दा ब्रेकर नम्बर ६ मा रहेको ६ दशमलव ६ केभीको जेनेरेटर जलेर पूर्ण रूपमा क्षति भएको केन्द्रका प्रमुख तारदत्त भट्टले जानकारी दिए।

आगलागीले क्षति पु¥याएका उपकरण मर्मत र परिवर्तन गर्न एक करोड रुपैयाँभन्दा बढी लाग्ने देखिएको छ। विद्युत् गृह मर्मत गरी सञ्चालन गर्न करि एक साता लाग्ने प्राविधिकहरुले बताएका छन्।

उत्पादन गृहमा लागेको आगो नियन्त्रणमा लिन नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, विदुर नगरपालिकाको दमकलसहित स्थानीयलाई एक घण्टाभन्दा बढी लागेको थियो।

आगलागीका कारण उक्त केन्द्रबाट विद्युत् उत्पादन बन्द हुँदा नुवाकोटसहित रसुवा र धादिङका केही स्थानमा विद्युत बन्द भएको छ । ती ठाउँमा राष्ट्रिय प्रसारण लाइनमार्फत बुधबार रातिदेखि विद्युत उपलब्ध गराइएको छ।

उक्त उत्पादन गृहमा गत असार २६ र मंसिर ८ गते पनि आगलागी भएको थियो।

Loading...