हेलिकोप्टरबाट पूर्वी नेपालका गहुँ, जौ, कोदो बोली अवलोकनमा व्यस्त राष्ट्रपति

झापा, १८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वी नेपालको कृषि परियोजनालाई हेलिकप्टरबाटै हवाई अवलोकन गरेकी छन् । बुधबार झापा पुगेर राष्ट्रपति भण्डारीले गौरादह नगरपालिका–५ स्थित महारानीझोडा महिला कृषि सहकारी संस्थामा आबद्ध साना किसानद्वारा प्रवर्तीत एक सय बिघा जमिनमा सञ्चालित नमुना कृषि परियोजनाकाे अवलाेकन गरेकी हुन् । उनले त्यहाँ रहेका गहुँ, मकै र कोदो खेती हेलिकाेप्टरबाटै नियालेकाे बताइएको छ ।

राष्ट्रपति भण्डारीले बुधबार दिउसो उक्त परियोजनाको हेलिकप्टरबाटै हवाई अवलोकन गरेकी हुन् । शिवसताक्षी नगरपालिका–४ स्थित चन्द्रडाँगी कृषि फार्मको भने उनले स्थलगत अवलोकन गरिन् । कृषि फार्म ८४ बिघा क्षेत्रफलमा फैलिएको छ । फार्मलाई कृषि विश्वविद्यालय बनाउने पहल भइरहेका बेला राष्ट्रपति भण्डारीले अवलोकन गरेकी हुन् । कृषि अवलोकन भ्रमणपछि राष्ट्रपति भण्डारीले कृषि फार्म र परियोजनालाई सरकारले सुधार गर्दै कृषकलाई सेवा दिनेमा आफू आशावादी रहेको बताइन् ।

फार्मको अवलोकनपछि चन्द्रडाँगीमा आयोजित औपचारिक कार्यक्रमलाई संबोधन गर्दै उनले यस्तो बताएकी हुन् । संघीय सरकारले हेर्दैआएका कृषि फार्म र परियोजनालाई प्रदेश र स्थानीय तहमा जिम्मा दिन सके अझै राम्रो काम हुने उनको तर्क छ ।

‘देश संघियतामा गएपछि स्थानीय तह, नागरिक र प्रदेशले अधिकार खोज्नु स्वभाविक हो, पहिले केन्द्रीय सरकारले हेर्दै आएका परियोजना र फार्म सञ्चालनको अधिकार स्थानीय तहले माग गर्नु स्वभाविक हो,’ उनले भनिन् ।

राजनीतिक संक्रमणकाल टुङ्गिएर देश स्थिर राजनीतिमा प्रवेश गरेको भन्दै संघीय नेपालमा शक्ति बाँडफाड र अधिकारलाई मिलाउँदै जानेमा आफू आशावादी रहेको उनको भनाइ थियो ।

Loading...