मोदीको सभाबाट फर्किएका प्रहरी प्रदर्शनकारीको आक्रमणमा परी मृत्यु

काठमाडाैं । भारत उत्तर प्रदेशको गाजीपुर जिल्लामा प्रधानमन्त्री नरेन्द्र मोदीको सभामा सुरक्षाका लागि खटिएका एक प्रहरीको ड्युटी सकेर फर्कने क्रममा भएको आक्रमणका कारण ज्यान गएको छ ।

ड्युटीबाट फर्किँदै गरेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा एकजनाको ज्यान गएको र अरु केही घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

स्थानीय प्रहरीका अनुसार प्रहरी जवान सुरेश वत्स प्रधानमन्त्री मोदीको सभाको सुरक्षाका लागि खटिएका थिए । उनी ड्युटी सकेर फर्कने क्रममा नौनेरा क्षेत्रमा निषाद समुदायका केही मानिसले प्रदर्शन गरेका थिए, त्यही क्रममा केहीले प्रहरीमाथि ढुंगा प्रहार गरे ।

वत्स गम्भीर घाइते भएका थिए, उनको उपचारको क्रममा निधन भएको स्थानीय प्रहरीले जनाएको छ । घटनामा अरु दुईजना गम्भीर घाइते भएका छन् भने अरु केहीलाई सामान्य चोट लागेको छ । सबैको उपचार भइरहेको छ । आरक्षणको माग गर्दै निषाद समुदायका मानिसले धर्ना तथा प्रदर्शन गर्दै आएका थिए ।

प्रदर्शनकारीले शनिबार बेलुका प्रधानमन्त्री मोदीको सभा सकिएपछि कठवामोड पुलमा जाम गरेका थिए । प्रहरीले जाम हटाउने प्रयास गरेको थियो । त्यहिबेला धर्नामा रहेका व्यक्तिले प्रहरीमाथि ढुंगा प्रहार गरेका हुन् ।

शनिबार निषाद समुदायको प्रदर्शनमा रोक लगाएको थियो । तर प्रहरीले निषाद समुदायका एक नेतालाई पक्राउ गरेपछि उनीहरुले प्रदर्शन गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

Loading...