हत्यारा पत्ता लगाउन अन्ततः चितुवाको डिएनए परिक्षण गरियो

सन्धिखर्क, १४ पुस । हत्यारा पत्ता लगाउन अर्घाखाँचीमा चितुवाको डिएनए परिक्षण गरिएको छ । लगातार १४ बालबालिकाको ज्यान लिने चितुवाको पहिचान गर्न यो डिएनए परिक्षण गरिएको हो । १४ जनाको ज्यान लिने चितुवा एउटै हो वा होइन भन्ने पत्ता लगाउन काठमाडौंस्थित प्रयोगशालामा डिएनए परिक्षण गरिएको हो ।

डेढ महिनाअघि अर्घाखाँचीको ढिकुरा पियाले खोलामा नरभक्षी ठानिएको एउटा चितुवालाई पासोमा पारियो । अर्घाखाँचीको ढिकुरा, नुवाकोट, सन्धिखर्क, खाँचीकोट क्षेत्रमा ५ वर्षमा २४ बालबालिकामाथि चितुवाले आक्रमण गर्यो । चितुवाको आक्रमणमा परेका मध्ये १४ जनाको मृत्यु नै भयो । यसरी भकाभक मानिसको मृत्यु भइरेपछि स्थानीयवासीले प्रशासनमा गुनासो गरिरहेका थिए । धेरै गुनासो आएपछि स्थानीय प्रशासनले प्रहरी परिचालन गरी चितुवा समात्यो ।

चितुवा त पक्राउ पर्यो, तर नियन्त्रणमा लिन खोज्दा चितुवाको पनि मृत्यु भयो । चितुवाको आतंकित बनेका त्यस क्षेत्रमा लगायतका स्थानीय त चितुवा पासोमा परेपछि नै खुसी भए ।

तर, त्यससँगै प्रश्न उब्जियो कि १४ जनाकै हत्यारा एउटै त्यही चितुवा हो वा अरु कुनै चितवा पनि छन् ? जंगलमा त्यसवाहेक अरु नरभक्षी चितुवा भएको स्थानीयको आशंका रह्यो । त्यो आशंकालाई हटाउन प्रशासनले त्यो चितुवाको डिएनए परिक्षण गराउने निष्कर्षमा पुगेको हो ।

चितुवाको ब्लड, र्याल, बच्चाको बल्ड, जंगलमा बच्चा भेटिएको स्थानका विभिन्न नमूना चेकजाँचको लागि काठमाडौंस्थित प्रयोगशाला पठाइयो । जिल्ला प्रशासन कार्यालयले उक्त चितुवाको डिएनए काठमाडौंमा पठायो ।

परिक्षणबाट १४ जनाकै ज्यान लिने नरभक्षी चितुवा एउटै त्यही चितुवा रहेको भेटियो । सहायक वन अधिकृत शिला पोखरेलका अनुसार डिएनए रिपोर्ट अनुसार चितुवा नरभक्षी रहेको पोजेटिभ रिपोर्ट आएको हो । रिपोर्टका कागजात भने सन्धिखर्क ल्याइ पुर्याउन केही दिन लाग्ने पोखरेलले बताएकी छन् ।

चितुवाको आक्रमणबाट १४ जनाको ज्यान गएको थियो भने १० जना घाइतेको उपचार भइसकेको छ । चितुवा आतंक बढ्दै गएपछि सन्धिखर्क, किमडाडा, अर्घा, खाचिकोट, ढिकुरा, नुवाकोट, लगायतका स्थानीय बासिन्दाले चितुवा पक्राउ गर्नुपर्ने माग राख्दै जिल्ला प्रशासनमा निवेदन दिएका थिए ।

चितुवाको डरले गाँउ छाड्नै बाध्य भएको र आफन्तहरु बालबालिका लिएर ढिकुरा, कुर, किमडाडा, नुवाकोट लगायत स्थानमा आउन समेत छोडेपछि उनीहरु त्रसित देखिन्थे ।

स्थानीयको गुनासोपछि चितुवालाई डेढ महिनाअघि पासोमा पारेर समातिएको हो । पासोबाट नियन्त्रणमा लिने क्रममा चितुवा मरेको थियो । डेढ महिनाअघि नै चितुवाको आक्रमणबाट ढिकुराको पियालेमा ४ वर्षीय बालकको ज्यान गएपछि नरभक्षी चितुवा समात्न प्रहरी परिचालन गरिएको थियो ।

स्थानीयहरुले चितुवा पासोमा पार्न बाघ खोर (पासो) थापेका थिए । चितुवा समात्न शसस्त्र प्रहरी, नेपाल प्रहरी र बनका कर्मचारी सहित ४५ जना सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो । चितुवाको आक्रमणबाट यस क्षेत्रमा बालबालिका अझै त्रसित छन् । सन्धिखर्क, किमडाडा, अर्घा, खाचिकोट, ढिकुरा, नुवाकोट, लगायतका स्थानीयले जिल्लालाई नै संकटग्रस्त क्षेत्रको घोषणा गर्न माग गरेका छन् ।

Loading...