१८ वर्षपछि हिउले छपक्कै ढाकिए डाँडा

धनकुटा, १४ पुस । धनकुटाका उच्च पहाडी भेगमा बाक्लो हिउँ परेर यहाँको जनजीवन प्रभावित बनेको छ ।

हिउँसँगै अहिले यस क्षेत्रमा अत्याधिक चिसो बढेको छ । धनकुटा–१ हिलेदेखि जोरपाटी, सिँधुवा हुँदै चित्रेसम्मको भाग हिउँले ढाकिएको हो । हिउँले ढाकिएका ती डाँडाहरु सेताम्मे देखिएका छन् । हिलेमाथिका डाँडामा पनि हिउँले ढाकिएको बताइएको छ ।

शुक्रबार दिउसोदेखि हिउँ परेपछि केही स्थानमा भने पर्यटकको भीड पनि बढेको छ । धनकुटा सदरमुकाममाथिको हिले डाँडामा त २०५७ सालयता पहिल्लो पटक हिउँ परेको हो । हिउँ पर्न छाडेर तुषारो मात्रै लाग्ने गरेका डाँडा पनि झण्डै दुई दशकयता पहिलो पटक हिउँले ढाकिएका हुन् ।

हिले बजार क्षेत्रमा १८ वर्षपछि हिउँ परेपछि अहिलेसम्मकै चिसो बढेको स्थानीयहरुको अनुभव छ । सिँधुवामा भने १५ वर्षपछि हिउँ परेको स्थानीय नवनित खड्काले बताए । उनका अनुसार २०६० सालयता यस क्षेत्रमा हिउँ परेकै थिएन । हिउँ परेपछि यस क्षेत्रमा धरान, धनकुटा बजारदेखि मान्छेहरु हिउँ खेल्न आएका छन् ।

Loading...