विजयको खुसी राम्ररी साटन नपाउँदै नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर निधन

धनगढी । नेपाल अाइडल सिजन २ का विजेता रवि अाेडकी अामाकाे निधन भएकाे छ । नेपाल अाइडल बनेकाे खुसी राम्ररी साट्न नपाउँदै रविलार्इ यस्ताे पीडा अाइपरेकाे छ ।

८ वर्षको बाल्य अवस्थामा नै आफूलाई जन्मदिने आमा गुमाएका नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले बुधवार बिहान कर्मदिने आमा पनि गुमाएका छन् । २०५४ सालमा कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका गुलरियामा बुवा राजेन्द्र ओड र आमा उमा ओडकोे कोखबाट जन्मिएका रविले ८ वर्षको उमेरमै आमालाई गुमाएका थिए ।

नेपाल आइडल बनेपछि रवि सोमबार मात्रै धनगढी पुगेका थिए । सोमबारदेखि सम्मान तथा बधाई थाप्न व्यस्त रहेका रवि मंगलवार बिहान आफ्नो घर पुगेका थिए ।

घरपरिवार र आफन्तसँग करिव आधा घण्टा मात्रै विताएका रवि त्यसपछि कृष्णपुर नगरपालिका, वेदकोट नगरपालिका र भिमदत्त नगरपापिलिकाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममै व्यस्त थिए ।

मंगलवार महेन्द्रनगरमै बसेका रविले बिहान पनि विभिन्न बधाई तथा सम्मान कार्यक्रममा सहभागि भएर घर पुग्ने र दिउँसो काठमाण्डौँ फर्कर्ने कार्यतालिका थियो । तर, जन्मदिने आमाको मृत्युपछि आमाको अभाव हुन नदिई पालनपोषण र हुर्काउने ४५ वर्षकी आमा विष्णादेवीलाई करेन्ट लागेको एक बिहानै खबर थाहा पाए ।

करेन्ट लागेर घाइते आमालाई उपचारका लागि धनगढी ल्याइयो । कञ्चनपुरमा रहेका रवि पनि अस्पतालका लागि हिँडे । उनले बाटैबाट अस्पतालका चिकित्सकलाई फोन गरेर आफू आइरहेको र जसरी भएपनि आफ्नी आमालाई बचाई दिन आग्रह गरेका थिए ।

रविले चिकित्सकलाई फोन गर्दा उनकी आमा विष्णाले संसार छोकिसकेकी थिइन् । अस्पताल पुग्नु अगाडि नै उनको मृत्यु भइसकेको चिकित्सकहरुले जानकारी दिए ।

बिहान ७ बजे छिमेकीको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी विष्णादेवीलाई अत्तरीयामा उपचार हुन नसकेपछि धनगढीको सेती अञ्चल अस्पतालमा ल्याईएको थियो । सेती अञ्चल अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।

मृतक विष्णाको शवलाई अहिले घरमा लगिएको छ। बुधबार नै गोदावरी घाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । रविका बुवा भने २५ वर्षदेखि भारतको गुजरातमा ‘वाचम्यान’ को काम गर्दै आएका थिए । उनी पनि बुधबार श्रीमतीको मृत्यु भएको खबरपछि नेपाल फर्कने तयारीमा छन् ।

Loading...