सौराहामा पन्ध्रौँ चितवन हात्ती महोत्सव शुरु

भरतपुर, १२ पुस । चितवनको पर्यटकीय क्षेत्र सौराहामा  ‘पन्ध्रौँ चितवन हात्ती महोत्सव’ शुरु भएको छ । 

सौराहाको बाघमारा चौरमा शुरु भएको महोत्सवमा आज पहिलो दिन हात्ती वाक र छावाको मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । हात्ती वाकतर्फ भएको प्रतिस्पर्धामा चार वटा हात्ती दोस्रो चरणमा प्रवेश गरेका छन् ।

लक्की कली, पूजा कली, रानीमाया कली र गुलाफ कली दोस्रो चरणमा प्रवेश गरेका हुन् । एउटा हात्ती भने पहिलो चरणबाटै बाहिरिएको छ । हात्ती वाक प्रतियोगितामा १५ वटा हात्तीको सहभागिता थियो । 

यसैगरी हात्तीका छावाको मैत्रीपूर्ण फुटबल खेलमा मेगा बैंकले एमइ ट्राभल एण्ड टुर्सलाई १–० गोल अन्तरले पराजित गरेको छ । बिहीबार हात्तीको वनभोज र अन्य प्रतियोगिता हुनेछ । 

महोत्सवमा आज साङ्गीतिक कार्यक्रमअन्तर्गत लोक गायक मिलन लामा, नेत्रजी पन्तलगायतको कलाकारले साङ्गीतिक प्रस्तुति दिएका छन् । 

महोत्सव अवधिभर हात्ती वनभोज कार्यक्रम, हात्ती छिटो हिँड्ने (हात्ती वाक) प्रतियोगिता, हात्तीको छावाको फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती शृङ्गार प्रतियोगिता र राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम रहने आयोजक क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए । 

अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिन तथा वन्यजन्तु संरक्षणमा एकजुट हुनका लागि चितवन हात्ती महोत्सव गरिएको अध्यक्ष घिमिरेले बताए । 

यस्तै महोत्सवका क्रममा ‘साहित्य र पर्यटन’ विषयक विशेष कार्यक्रम आयोजनासमेत गरिनेछ । स्थानीय युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, बाघमारा सामुदायिक वन, सौराहा बचत तथा ऋण सहकारी संस्था, रेवान सौराहा, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको सहकार्यमा शुरु भएको महोत्सव पाँच दिनसम्म चल्नेछ । 

Loading...