पलाता आगलागी पीडितलाई फिल्डमै पुगेर उपचार गर्न जनस्वास्थ्यकर्मी महासंघको अाग्रह

काठमाडौं । कालिकोटको पलातामा भएको आगलागीप्रति अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले दुख व्यक्त गरेको छ । साथै आगलागीपिडित जनतासँग आफ्नो सङ्गठन सँगसँगै रहेको र बिपत्तिमा सहयोग गर्न तयार रहेको बताएको छ ।

नेपाल कम्युनिष्ट पार्टीनिकट जनस्वास्थ्यकर्मी महासंघका केन्द्रीय अध्यक्ष चिरन्जीवीले बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै यस दुखद घडीमा पलाताका अग्नि पिडितसँग आफ्नो सङ्गठन सँगसँगै रहन र सहयोग गर्न तयार रहेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ-‘पुस ९ गते कालिकोटको पलाता गाउँपालिका १ खाडा गाउँमा भएको आगलागीबाट ८७ घर जलेर नष्ट हुन गएको तथा उक्त आगलागीमा परी ७ जना घाइते हुनुका साथै २८५ जना बिस्थापित हुन् पुगेको दुखद खबरले हाम्रो संगठन अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघलाई दुखित बनाएको छ ।’

विपतको घडीमा उक्त क्षेत्रमा केही महामारी फैलिन सक्ने सम्भावना रहेको भन्दै अध्यक्ष चिरन्जीवीले कर्णाली प्रदेशको जनस्वास्थ्यकर्मी महासंघलाई फिल्डमै पुगेर उपचारमा खटिन निर्देशन दिएका छन् ।

विज्ञप्तिमा अगाडि भनिएको छ- ‘विपतको यस घडीमा उक्त क्षेत्रमा केही महामारी फैलिनसक्ने सम्भावना भएकोले कर्णाली प्रदेशको जनस्वास्थ्यकर्मी महासंघ सम्बद्ध नेता कार्यकर्ता स्वास्थ्यकर्मी साथीहरुलाई तत्काल पलाता क्षेत्रमा गइ उपचार तथा आबस्यक स्वास्थ्य सिबिर संचालन गर्न समेत यसै बिज्ञप्ति मार्फत निर्देशन गरिन्छ ।’

चिरन्जीवी नेतृत्वको जनस्वास्थ्यकर्मी महासंघ यस्ता कार्यमा अहिले सक्रियताका साथ लागेको छ । यसअघि हिजो मंगलबार मात्रै पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले कालिकोटमा भएको आगलागीको घटनाप्रति दुःख ब्यक्त गरेका छन् ।

आगलागीबाट कालिकोटको पलातास्थित सिंगो न्यौपाने गाउँ नै साखाप भएकोमा दुःख ब्यक्त गरेका हुन् । आगलागीबाट पलाताका ८७ घर जलेर नष्ट भएका थिए भने करोडौको घनमाल जलेर स्थानियहरु घरबार बिहिन भएका छन् । एक बिज्ञप्ति जारी गर्दै विप्लवले आफ्नो पार्टीका नेता कार्यकर्तालाई आगलागी पीडितलाई सहयोग गर्न र राहत संकलनमा जुट्न निर्देशन पनि दिएका छन् ।

महासचिव विप्लवद्वारा मंगलवार जारी विज्ञप्तिमा भनिएको छ,-‘कालीकोटका भएको घटना निकै दुखद छ । अग्निपीडित जनतासँग हाम्रो पार्टी साथमा छ । सम्पूर्ण पार्टी नेता/कार्यकर्तालाई अग्निपीडित जनतालाई सहयोग र राहत आपूर्ति गर्न यसै विज्ञप्तिमाफर्त निर्देशन गरिन्छ ।’

यता काठमाडौमा विभिन्न पेशा व्यवसाय गरेर बसिरहेका कालिकोटका युवाहरुले पलताका अग्निपिडितको सहयोगका लागि राहत संकलन अभियान सञ्चालन गरेका छन् । पिडितलाई न्यानो कपडा उपलब्ध गराउने उद्देश्यले उक्त अभियान सुरु गरिएको आयोजकले जानकारी दिएका छन् ।

आइतबार मध्याह्न काठमाडौको महाबौद्ध क्षेत्रबाट सुरु गरिएको अभियान सोमबार राजधानीमा थप राहत सामग्री संकलन गरेर कालिकोट पठाउने उनिहरुको तयारी छ ।

Loading...