प्रधानमन्त्रीलाई बदनामी हुन्छ भने पद छोडछु, तर मेरो मानहानी गर्न पाइदैन : अध्यक्ष

मानहानीको क्षतिपूर्तिका लागि अदालत जाने चेतावनी

काठमाडौं, ११ पुस । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफूलाई पदको लोभ नभएकोले सरकारलाई असजिलो बनाएर आफु पदमा नबस्ने स्पष्ट पारेका छन् । उनले भने,‘मलाई कुनै पदको लोभ छैन । काम गर्न पाए हुन्छ । भोलि त्यस्तै अवस्था आयो भने, म स्वेच्छाले यो सरकारलाई सजिलो पार्नलाई, किनभने मेरो कारणले यदि सम्मानीय प्रधानमन्त्री र मन्त्रीज्यूहरुलाई समेत बद्नामी हुन्छ भने म यो पद जुनसुकै बेला छोड्न पनि तयार छु ।’

उनले भने,‘म जागिर गरेर तलबमात्रै खाएर बस्ने मान्छे होईन, म त काम गर्ने मान्छे हुँ । म सर्भिस डेलिभर गर्न चाहन्छु । म पनि स्वतन्त्र नागरिक हुँ । मेरो पनि मान, सम्मान र सामाजिक र पारिवारिक प्रतिष्ठा छ । मेरो प्रतिष्ठामाथि आँच पुर्याउनेगरि नेताज्यूहरुले बोल्नुभन्दा अगाडि कमसेकम अध्ययन गरिहाल्नुहोस्। कसैलाईपनि आरोप लगाउँदा अन्याय नहोस् भनेर सोच्नुपर्छ ।’

उनले आफूले यसरी अहोरात्र काम गर्दापनि बिना कुनै कारण सत्तारुढ दल नेकपाका नेताहरुको राजनीतिक झगडामा आफूलाई मुछेर चरित्र हत्या गर्ने प्रयत्न भएकोमा उनले आपत्ति जनाए । उनले भने,‘मलाई बदनाम गरिएको छ । कुनै गल्ती नै नगरेको र आरोप नै नलागेको मजस्तो व्यक्तिलाई आज आरोपित गरिएको छ । उहाँहरुले त भ्रष्टाचारी नै ठहर गरिदिनुभएको छ । यसप्रति म निकै खिन्न छु । दुःखी छु । उहाँहरुको आफ्नो राजनीति होला, तर आफ्नो राजनीतिमा मलाई एउटा गोटीको रुपमा प्रयोग गरिँदैछ । यही दुःखको कुरा हो ।’

तर, एकजना पूर्वमन्त्रीले मलाई प्रभाव पार्न दिगम्बर झा आउनुभएको थियो भनेर तपाईमाथि गम्भिर आरोप लगाउनुभएको थियो नि ? भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘२०६८ सालमा उहाँ मन्त्री हुनुभएको थियो । म त्यो बेलामा आयल निगमबाट निस्किएको थिएँ । दुई कार्यकाल पुरा गरेर म निस्किएको थिएँ । मैले उहाँलाई त्यो बेलामा यदि कुनै प्रकारको प्रलोभन वा घुस नै दिन गएको थिएँ भने उहाँले मलाई त्यही बेला समात्न सक्नुहुन्थ्यो किनकी उहाँसँग त पुलिस थियो । अंगरक्षक थियो । दोस्रो कुरा, ठीक एक वर्षपछि उहाँकै पार्टीका नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला उहाँले मलाई अध्यक्षमा नियुक्ती गर्नुभयो । त्यो बेलामापनि उहाँ बोल्न सक्नुहुन्थ्यो नि । तर, ७ वर्षपछि उहाँले बिना आधार, बिना कुनै कारण यो आरोप लगाउनुभयो । यो पनि असाध्यै आपत्तिजनक छ । यो मेरो मानहानीको खिलाफ हो । म यसको उपचारको लागि अदालत जान सक्छु । क्षतिपूर्तिपनि माग्न सक्छु ।’

आजसम्म आफूमाथि कुनै आरोप, लाञ्छना, काण्ड र भ्रष्टाचारको आरोप नलागेको झाले स्पष्ट पारे । उनले भने,‘यहाँसम्म की मलाई अहिलेसम्म कुनै बयानपनि लिईएको छैन् । म दोस्रोपटक प्रतिष्पर्धाबाट आएको हुँ । कसैको कृपाले आएको होईन । देउवा सरकारको पालमा त मलाई राम्रो काम गरेको भनेर अर्को पटक समय थपेको हो ।’

आफू कुशल, योग्य र कर्तव्यनिष्ठ प्रशासक भएकोले नै बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा प्राधिकरणको अध्यक्षमा नियुक्ती दिएको पनि झाले दाबी गरे । उनले भने,‘त्यतिवेला एक महिनापनि काम गर्न पाएको थिईंन, सर्वोच्च अदालतमा रिट पर्यो । म दुई वर्ष काम गर्नबाट बञ्चित भएँ । र, ०७१ देखि ०७४ सम्म मैले काम गरें । झाले आफूले गरेको काम राम्रो भएको विज्ञ सम्मिलित समितिको निश्कर्षपछि २०७४ साल मंसिरबाट फेरी आफूलाई दोस्रो कार्यकालको लागि नियुक्ती गरिएको स्पष्ट पारे ।

वर्तमान सरकारले खुल्ला प्रतिष्पर्धामार्फत उक्त रिक्त पदको लागि विज्ञापन गरेपछि आफूले पनि प्रतिष्पर्धा गरेको र पहिलो नम्बरमा नाम निस्किएको उनले जनाए । उनले भने,‘म लगायत हामी १७ जनाले आवेदन दिएका थियौं । त्यसमा तीन जनाको नाम सिफारिश भयो । एक नम्बरमा मेरै नाम सिफारिश भयो । र, वर्तमान सरकारले भदौं २१ गते मलाई पूनः नियुक्ती गर्यो ।’

आफ्नो नियुक्तीपश्चात् सत्तारुढ दल नेकपाकै नेताहरुले केही कुरा उठाएको सुनाउँदै झाले भने,‘मलाई उहाँहरुले विवादित, भ्रष्टाचारी र अयोग्य भनेर भन्नुभयो । दूरसञ्चार प्राधिकरणलाई म आउनुभन्दा पहिले त्यति मान्छेले नै चिनेका थिएनन् । तर, म आएपछि यसलाई चिनाएँ । मेरो काम सन्तोषजनक भएकोले नै देउवा सरकारको पालामा अर्कोपटक नियुक्ती भएको हो । म कुनैपनि राजनीतिक दलसम्बद्ध व्यक्ति होईन् । म कोही दलसँग नजिक पनि छैन् । म यो देशको विशुद्ध व्यवसायिक व्यक्ति हुँ । म कुशल व्यवस्थापकको रुपमा स्थापित भएको छु ।’

उनले आफू विवादित व्यक्ति नभएर चर्चित व्यक्ति भएको पनि बताए । उनले भने,‘यो देशमा यदि दुई चार जना यदि कुशल प्रशासकको नाम आउँछ भने त्यसमा मेरो पनि नाम पर्छ । त्यसैले म चर्चित व्यक्तित्व हुँ । तर, विवादित होईन् । भ्रष्टाचारको कुरा गर्नुहुन्छ भने सावित हुने त परको कुरा हो, कुनै काण्डमा आजसम्म म आरोपित पनि भएको मान्छे होईन ।’ यो–यो ठाउँमा दिगम्बर झाले गलत गर्यो भनेर कसैलेपनि आजसम्म औंलासमेत उठाउन नसकेको उनले स्पष्ट पारे ।

नेकपाको स्थायी समितिको बैठकमा समेत विभिन्न नेताहरुले आफूलाई गलत आरोप लगाएको कुरा मिडियामार्फत बाहिर आएकोमा टिप्पणी गर्दै उनले यसले आफू मर्माहत भएको र खिन्न भएको गुनासो पोखे । उनले भने,‘म निकै दुःखी भएको छु । त्यतिमात्रै होईन, मसँग सम्मानीय प्रधानमन्त्री र माननीय मन्त्रीज्यूको नामसमेत जोडिएको छ । उहाँहरुबीच आपसमा केही राजनीतिक कुरा भए गर्दा हुन्छ, हामीलाई केही फरक पर्दैन् । तर मजस्तो एउटा कर्मठ र ईमानदार राष्ट्रसेवकलाई खुलेआम सञ्चारमाध्यमहरुमा भ्रष्टाचारी सावित गर्नु, जबकी कुनै आरोप नै छैन् । यो दुःखको कुरा हो।’

उनले यस्तो आरोपले आफ्नो चरित्र हत्या भएको गुनासो पोखे । उनले भने,‘मेरो प्रतिष्ठामा आँच आयो । चरित्र हत्या भयो । मेरो मानहानी भयो । यसको लागि म भोलि अदालत गएर न्याय माग्न सक्छु । मानहानीको क्षतिपूर्तिपनि माग्न सक्छु ।’ नेपाल सतिले सरापेको देश भनिएको सुनाउँदै उनले आफ्नो हकमापनि त्यही भएको गुनासो पोखे । उनले भने,‘राम्रो काम गर्नेको यो देशमा कहिल्यैपनि भलो हुँदैन् ।’

उनले अल्पसंख्यक वा मधेशी समूदायको भएकै कारणले आफूमाथि यस्तो प्रहार भएको हो कि भनेर अहिले आफू सोच्नपनि बाध्य भएको सुनाए । झाले भने,‘समावेशी सिद्धान्तअनुसार आजको मितिमा दिगम्बर झाबाहेक कार्यकारी पदमा कोही पनि छैन् । एकजनालाई पनि बर्दास्द गर्न नसक्ने हाम्रो कस्तो समाज हो ? हामी कस्तो समाज विकास गर्दैछौं ?’ आफूलाई केही नचाहिएको उल्लेख गर्दै उनले यो देशमा काम गरेर देखाउन सकिन्छ भनेर नै आफू दिनरात लागिपरेको झाले स्पष्ट पारे ।

आफूले ग्रामिण क्षेत्रमा बसोबास गर्ने सबैमा ईन्टरनेटको पहुँच पुर्याउनको लागि काम गरेको पनि उनले सुनाए । उनले भने,‘सबै गाउँमा ब्रोडब्याण्ड ईन्टरनेटको पहुँच स्थापित गर्नको लागि काम गरेको छु । डिजिटल लिटरेसीको कार्यक्रम अघि बढाएको छु ।’

नेपालको आफ्नै ‘स्याटलाईट’ हुनुपर्छ भनेर सोहीअनुसारको काम पनि आफूले अघि बढाएको झाले जनाए । नेपाललाई नविनतम प्रविधिबाट बञ्चित गर्नु हुँदैन भनेर ‘फोर–जी’ ल्याएको पनि उनले सुनाए । उनले भने,‘अब फाईभ–जी कसरी ल्याउने भन्नेतिरपनि लागिरहेको छु ।’ ‘मोवाईल डिभाईस म्यानेजमेन्ट सिष्टम’ र ‘ईन्टरनेश्नल कल मनिटरिङ’ जस्ता धेरै काम आफूले प्राधिकरणबाट अघि बढाएको उनले फेहरिस्त पेश गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘डिजिटल नेपाल’ को सपना साकार पार्नको लागि आफू अहोरात्र खटिरहेको पनि उनले विश्वास दिलाए ।

अहिलेसम्म ६ वटा सेवाप्रदायक रहेको सुनाउँदै झाले तीमध्ये नेपाल टेलिकम र एनसेलबाहेक अरुको त्यति सिम वा उपभोक्ता नभएको स्पष्ट पारे । उनले भने,‘म यो सेक्टरलाई सफा गर्न तल्लिन छु । क्लिन द गार्वेज गर्छु । लाईसेन्स होल्ड गर्ने र विक्रि गर्ने काम अब हुँदैन् । यिनीहरुलाई सफाया गर्छु । र नयाँ सेवाप्रदायक पनि ल्याउनेमा लागिपरेको छु। कहीँकतै यो हुन नदिनको लागि माफियाहरुको चलखेल त होईन भन्ने मलाई शंका लाग्दैछ।’ आफूजस्तो ईमानदार, कर्मठ र योग्य व्यक्तिको मनोवल खसाउनको लागि निराधार आरोप नलगाउनपनि उनले आग्रह गरे ।

नेपालमा तीन वटा सेवाप्रादायकभन्दा बढिको बजार नरहेको पनि उनले सुनाए । उनले भने,‘हामीलाई तीन वटा सेवाप्रादायक भए पुग्छ । अहिले दुई वटा त देखियो । अरु पनि छन् । तर, तीनीहरुको प्रभावकारिता देखिएन । आज युटिएलमा ठूलो समस्या छ । एन.एस.टि.एलपनि छ, यो सुदुरपश्चिमतिर छ । तर, एउटापनि टावर सञ्चालनमा छैन । सिजीको पनि एउटापनि टावर सञ्चालनमा छैन । अब यो लाईसेन्स होल्ड गरेर राख्नेहरुबाट काम हुँदैन । त्यसैले नेपाली जनताको लागि एउटा तेस्रो विकल्पको रुपमा विदेशका मल्टिन्याश्नल कम्पनी ल्याउनुपर्छ भन्ने मेरो मान्यता हो । यसको लागि काम अगाडि बढाईसकेको छु । फ्रिक्वेन्सी अप्सन गरेर, जसले सबैभन्दा बढि अक्सनमा मुल्य तिर्छ, त्यसलाई फ्रिक्वेन्सी दिने, र त्यसलाई लाईसेन्सपनि दिने तयारीमा छु ।’

झाले आफूले नेपाल आयल निगममा पनि दुई कार्यकाल कार्यकारी निर्देशक भएर काम गरेको सुनाउँदै भने,‘आयल निगममा काम गरेको एक वर्षपछि नेपाल दूरसञ्चार प्राधिकरणमा पनि काम गरेको हो ।’

आजसम्म आफूलाई एक कुशल प्रशासक र काम गर्नसक्ने क्षमता भएको मान्छेको रुपमा चिनिएको सुनाउँदै उनले भने,‘आयल निगममा हुँदा कयौंपटक यो क्लबको प्लेटफममा कयौंपटक म उपस्थित् भएको छु । आयल निगममा म भन्दा अघिका चार पाँच जना कार्यकारी निर्देशकहरु भ्रष्टाचारमा आरोपित भएर तिनीहरु दण्डित पनि भएका छन् । जेल सजाय पनि भोगेका छन् । म पछिका अरु पनि आरोपित छन् । र, छानबिन चलिरहेको छ । कोही दण्ड सजायपनि भएको छ ।’ आफूमात्रै आयल निगममा दुई कार्यकाल कार्यकारी निर्देशक भएको तर अरु एक कार्यकालमात्रै भएको उनले स्मरण गराए ।

दुई कार्यकाल कार्यकारी निर्देशक हुँदापनि कसैले आफ्नो कार्यकौशलतामा प्रश्न उठाउन नसकेको झाले जिकिर गरे । उनले भने,‘आज आयल निगममा पेट्रोलियम पाईपलाईनको कुरा हुँदैछ, यसको डिपिआर मेरै कार्यकालमा ७ वर्षअघि भएको हो । मैले जिम्मेवारीबाट छोडेपछि त्यसलाई कार्यान्वयन गर्न ६ वर्ष लाग्यो ।’ मट्टितेल र डिजेलको मिसावटको समस्या एउटा विकरालको रुपमा रहेको र आफूले मुल्य एक बनाएर ठूलै भ्रष्टाचार रोकेको पनि उनको दाबी छ ।

Loading...