यस्ता छन हुलाक कर्मचारीका पीडा, निजामतिकरण नगरिए यस्तो छ चेतावनी

२०२९ सालदेखि २५ रुपैयाँमा काम गर्दै आएका धेरै कर्मचारीहरुले राज्यबाट पाउनुपर्ने सेवा पाएनन

काठमाडौं, ११ पुस । श्री नेपाल अतिरिक्त हुलाक कर्मचारी केन्द्रीय संघर्ष समितिले अतिरिक्त हुलाक कर्मचारीहरुलाई निजामतिकरण नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

बुधबार केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरेर अतिरिक्ति हुलाक सेवामा रहेर काम गरिरहेका कर्मचारीहरुलाई उचित पारिश्रमिक तथा निजामतिकरण नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।

संघर्ष समितिका अध्यक्ष महेशलाल माझीले हुलाक नियमावली ऐन–२०३४ खारेजीको माग गरेका छन् । उनले भने,‘हामीलाई नेपाल सरकारका कर्मचारी भनिन्छ । तर, सेवासुविधा दिँदा सौतेनी व्यबहार गरिन्छ, राज्यले यति विभेदकारी नजरले हेर्नु कत्तिको जायज हो ? पत्र वितरकको मासिक तलव ६ हजार दुई सय मात्रै छ, यस्तो महंगीमा उसले कसरी परिवार पाल्ने ? आफू कसरी पालिने ? हामीले २०६५ सालदेखि सरकारलाई आफ्ना समस्याहरु राख्दै आएका छौं, ज्ञापनपत्र बुझाउँदै आएका छौं, सरकारले आश्वासन दिन्छ । तर, मागहरु सम्बोधन गर्दैन, यसरी भुलभुलैयामा राखेर हामीलाई राज्यले अन्याय गरेको छ ।’

त्यस्तै कार्यक्रममा संघर्ष समितिका सदस्य हिक्मत घर्तीले निजामति कर्मचारी ऐनभित्र आफूहरुलाई अटाउनुपर्नेमा जोड दिएका छन् ।

उनले भने,‘हामीले जीवनका महत्वपूर्ण समय यस सेवामा समर्पित गरेका छौं, आज सरकारले हामीलाई सौतेनी ब्यहार गरिरहेको छ, यो अवस्थामा हाम्रो अभिभावक नभएकोजस्तो महसुस भएको छ । मंहगी, परिवर्तित समय, प्रविधिको युगमा थोरै भन्नपनि लाज लाग्ने तलवमा सरकारले हामीलाई काम गर्न लगाएको छ, तर हाम्रा अधिकारको बारेमा बोल्ने लेख्ने र अधिकार सम्बोधन गने राज्यमा कोही मानिस छैन् ।’

कार्यक्रममा प्रदेश नम्बर दुई सप्तरी जिल्लाका अध्यक्ष देव नारायण यादवले अतिरिक्त हुलाक कर्मचारीहरुलाई निजामतिसरहको सेवासुविधा प्रदान गर्न सरकारसँग माग गरे ।

उनले भने,‘हामीले अघि सारेका मागहरु जायज छन, समय सापेक्ष छन्, हामीले लामो सयम यस सरकारी सेवामा बिताएका छौं, हाम्रा जायज मागहरु पूरा गर्न सरकारले किन आलटाल गर्न खोज्दैछ ? मैले बुझ्न सकेको छैन, हाम्रा माग पुरा नभए हामी आन्दोलनमा उत्रिन्छौं, यो हाम्रो रहर होईन बाध्यता हो।’

त्यस्तै कार्यक्रममा २०३४ सालदेखि हुलाक सेवामा कार्यरत सरजुग सिङले आफु ६० रुपैयाँबाट काम गर्दै आएको बताए । उनले भने,‘हाम्रो ठुलो दुःख छ, २०२९ सालदेखि २५ रुपैयाँमा काम गर्दै आउनुभएका संखुवासभाका गुन्जमान दोर्जे हुनुहुन्छ, यस्ता धेरै कर्मचारीहरु छन् जसले राज्यबाट पाउनुपर्ने सेवा पाएका छैनन् ।’

अतिरिक्त हुलाकका कर्मचारीहरुले अवकासपछि रित्तो फर्किनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने, विषेश सुविधा प्रदान गर्नुपर्ने, तलव अत्यन्त अन्यायपूर्ण रहेको सन्दर्भमा पूरा कामसहित तलब भक्ता खरिदार सहर बनाईनुपर्ने, कार्यालय कोठाको व्यवस्था र कार्यालय समय थप गर्नुपर्ने, सञ्चित बिरामी बिदाको रकम दिनुपर्ने, अन्य निजामती कर्मचारीसरह थप एक महिनाको तलव पाउनुपर्ने माग अघि सारेका छन् ।

त्यस्तै मुल्यबृद्धि अनुपातमा तलव बृद्धि गर्नुपर्ने, हुलाक नियमावली–२०३४ खारेजी गरि नयाँ ऐनअनुसार सञ्चालन गर्नुपर्ने, सेवाबाट निवृत्त हुन चाहने अतिरिक्त हुलाक कर्मचारीलाई उपदानको व्यबस्था गर्नुपर्ने, प्रकृया पुर्याएर स्थायी र अस्थायी गरिनुपर्ने लगायतका मागहरु पूरा नगरे आन्दोलनमा उत्रिने बताएका छन् ।

कार्यक्रममा अतिरिक्त हुलाक कर्मचारीहरु सिताराम खतिवडा, तुलाराज महत, ललित वली, भीष्मा शाही, पदम अधिकारी, भवानी शर्मा, डम्बर नारायण चौधरी, यज्ञ बहादुर खड्का, वीर बहादुर नेपाली, नरेश कुमार साह, तिर्थराज कोईराला, धन बहादुर कुसारी लगायतले आफ्ना कुराहरु राखेका थिए ।

Loading...