बस अपहरण गर्न लाग्दा अनियन्त्रित बसले ठक्कर दिँदा ५ को मृत्यु २१ घाइते

एजेन्सी । चीनको पूर्वी क्षेत्र फुजियान प्रान्तमा मङ्गलबार एक व्यक्तिले गाडीको चालकलाई चक्कू देखाई गाडी अपहरण गर्न खोज्दा भएको बस दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । घटनामा २१ जना घाइते भएका छन् ।

चक्कूधारी व्यक्तिले बसलाई अपहरण गरेर लाने क्रममा स्थानीय समयानुसार दिउँसो ३ः२० बजेमा बस पैदलयात्रीसँग ठोक्किएको चिनियाँ राज्य सञ्चालित समाचार संस्था सीजीटीएनले प्रहरीलाई उद्धृत गरी जनाएको छ ।

अपहरणकारीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको सीजीटीएनले बताएको छ । मृतकमध्ये एक प्रहरी अधिकारी रहेका बताइएको छ ।

अमेरिकाबाट सञ्चालित चिनियाँ अनलाइन दुववे न्यूजले दुर्घटनाग्रस्त बसको नजिकै सडकमा ढलेको अवस्थामा केही व्यक्तिको तस्बीर देखाएको छ । तस्बीरमा प्रहरी एक जना व्यक्तिसँग सडकमा लडिरहेको पनि देखाइएको छ ।

घटनाबारे एएफपीले ‘लङ्ग्यान पब्लिक सेकुरिटी ब्युरो’ लाई प्रतिक्रियाका लागि अनुरोध गरे पनि घटनाबारे अनुसन्धान भइरहेकोले केही भन्न नमिल्ने जनाएको छ ।

चीनमा यो वर्ष यस खालका धेरै घटना भएका छन् । नोभेम्बरको अन्त्यमा लियाओनिङ प्रान्तको उत्तरपूर्वमा एउटा प्राथमिक विद्यालयका विद्यार्थीहरूले सडक पार गरिरहेका समय एउटा कार उनीहरूलाई धकेल्दै अघि बढेपछि कम्तिमा पाँच जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए ।

सोही महिना दक्षिणपश्चिमी शहर कोङक्वीन नगरपालिकामा रहेको एक पुलबाट नहरमा खस्दा कम्तिमा १५ जनाको मृत्यु भएको थियो ।

Loading...