मानव तस्करीका समाचार विश्लेषणले भन्छ, राज्य मानव तस्करी निर्मूल पार्दैन, बढावा दिँदैछ

काठमाडौं, ५ पुस । नेपालमा बलात्कारका घटना बढिरहेकै सन्दर्भमा मानव बेचविखन तथा असुरक्षित आप्रवासनका घटना पनि बढ्दै गएको देखिएको छ । साथै पछिल्लो समयमा मानव बेचविखन गर्ने तरिका पनि बदलिदै गएको छ ।

अहिले मानव बेचविखनको सबैभन्दा ठूलो क्षेत्र वैदेशिक रोजगारी बनेको छ । आर्थिक समस्यामा रहेकाहरुलाई राम्रो रोजगारीको आश्वासन दिएर अर्कै ठाउँमा पुर्याएका घटनाहरु बढ्दै गएका छन । महिला तथा बालबालिका बेचविखनका विरुद्ध सहकर्मी समूह, नेपाल (एटविन) ले बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी यस क्षेत्रमा भइरहेको अध्ययनका बारेमा जानकारी गराएको हो । महिला र बालबालिका क्षेत्रमा काम गर्ने विभिन्न ३० वटा संस्थाहरुको सञ्जाल एटविनले यस क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छ । २०७४ सालमा नेपालका प्रमुख छापा सञ्चारमाध्यममा प्रकाशित समाचारहरुको अध्ययन तथा विश्लेषण गरी त्यसको तथ्य पनि सार्वजनिक गरेको छ ।

एटविनले गरेको अध्ययनमा २०७४ सालमा ५७२ वटा समाचार प्रकाशित भएका छन् । एटविनका लागि पत्रकार विजय पौडेलले गरेको अध्ययनबाट पहिलेभन्दा घटनाहरु बढ््दै गएको र मिडियाले पनि यो क्षेत्रलाई बढी स्थान दिएको देखिएको छ ।

नेपालका प्रमुख दैनिक पत्रिकाहरु अन्नपूर्ण पोष्ट, काठमाडौं पोष्ट, कान्तिपुर, गोरखापत्र, नयाँ पत्रिका, नागरिक, नेपाल समाचारपत्र, राजधानी र हिमालयन टाइम्पसमा एक वर्षमा प्रकाशित समाचारलाई पौडेलले विभिन्न कोणबाट विश्लेषण गरेका छन् । यो वर्षमा प्रकाशित जम्मा ५७२ वटा समाचारलाई जिल्लागत, लिंग, उमेर, मानव वेचविखन तथा ओसारपसारको प्र्रकार, पीडकको प्रकार, मानव वेचविखन तथा ओसारपसारको कारण र उद्देश्यलाई पनि उनले विश्लेषण गरेर देखाएका छन् । त्यसैगरी मिडियाले यस क्षेत्रका समाचारलाई कुन ठाउँमा कसरी प्राथमिकता दिएको छ, कुन महिनामा कति समाचार प्रकाशित भएका छन्, घटनाअघि कि पछाडि यस्ता समाचार प्रकाशन भएका छन् भन्ने सूचक पनि विश्लेषणबाट छुट्याइएको छ ।

प्रकाशित समाचारकाे विश्लेषणबाट सबैभन्दा बढी प्रभावितहरु सिन्धुपाल्चोक र नुवाकोट जिल्लाका देखिएका छन् । त्यसैगरी अध्ययनकाे क्रममा पछिल्लो समय प्रभावितहरु बढी भएको जिल्लामा दलालहरुले महिला तथा युवाहरुलाई राहदानी बनाउन निकै प्रयास गरेको पनि थाहा भएकाे छ । कार्यक्रममा आफ्नो विश्लेषण प्रस्तुत गर्ने क्रममा पत्रकार पौडेलले एक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीले राहदानी वितरण रोक्न नै नसकिएको बताएको जानकारी दिए । एजेन्टहरुले विदेशमा पठाइदिने र राम्रो रोजगारीमा लाइदिने भन्दै गाउँका युवा युवतीहरुलाई धमाधम राहदानी बनाउन लगाएको तर राहदानी बनाउन आउनेहरुलाई सोध्दा केका लागि राहदानी बनाउँदैछु भन्ने केही  थाहा नहुने गरेको ती अधिकारीले आफूलाई भनेको पत्रकार पौडेलले सुनाए ।

मिडियामा प्रकाशित समाचार अध्ययनको क्रममा देखिएका केही समाचारका कटिङ पनि कार्यक्रममा देखाइएको थियो । ओमनस्थित नेपाली दुतावासमा उद्धार गरेर ल्याइएकी एक युवतीलाई ओमनको एक नागरिक आएर आफूले ती युवतीलाई किनेको बिल नै देखाएको समाचार पनि प्रकाशित भएका छन् । त्यसैगरी संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले निकालेको निष्कर्षका आधारमा नेपालमा राज्य नै मानव तस्करीमा लागेको पाइएको छ । ती समाचार पनि यस वर्षमा प्रकाशित भएका छन् । उक्त समाचारमा वैदेशिक रोजगार विभाग, अध्यागमन विभागका कर्मचारी, महानिर्देशक, राजदुत, स्थानीय सरकारका जनप्रतिनिधिदेखि नेपाल सरकारका मन्त्रीसमेत मानव तस्करीमा जोडिएका तथ्य बाहिर आएका छन । यसबाट राज्य नै मानव तस्करीमा सम्लग्न रहेको देखिएको छ । त्यसैगरी प्रकाशित समाचारमा न्यायालयले समेत कतिपय पीडकका बारेमा नरम फैसला गरेर छुटकारा दिने गरेको विषय पनि उठान गरिएको पाइएको छ । पहिले पहिले नेपालका युवतीहरुलाई ललाई फकाई बम्बईका कोठरीमा पुर्याउने गरिएकोमा अहिले त्यो शैली बदलिएर त्यसको स्थान वैदेशिक रोजगारले लिएको देखिन्छ ।

पत्रकार पौडेलले मोफसलका मिडिया, पछिल्लो समय व्यापक कभरेज भएका अनलाइन मिडिया र विद्युतीय सञ्चार माध्यमलाई भने समेटन सकेका छैनन । ठूला भनिएका छापा सञ्चार माध्यममा राजनीतिक र व्यवसाय फस्टाउने विषय बढी प्राथमिकता पाउने गरेका र यस्ता सामाजिक समस्याहरु कम प्रकाशित हुने गरेकोले त्यसलाई मात्र आधार मानेर गरिएको अध्ययनबाट पूर्ण चित्र अझै आउन नसकेको हो कि भन्ने कार्यक्रममा सहभागी पत्रकारले सुझाव दिएका थिए ।

एटविनले यसअघि पनि नेपाली मिडियामा प्रकाशित समाचारलार्इ यसैगरी अध्ययन गरी त्यसकाे रिपाेर्ट सार्वजनिक गरेकाे थियाे । अघिल्लाे वर्ष पाँच वर्षमा प्रकाशित समाचारलार्इ एकैपटक विश्लेषण गरिएकाे थियाे । यस पटक एक वर्षकाे घटनालार्इ एटविनले अध्ययन गरी विश्लेषण गरेकाे हाे । 

कार्यक्रममा एटविनकी अध्यक्ष अन्जना शाक्यले मानव बेचविखन तथा असुरक्षित अाप्रवासनका रुट कारणका बारेमा खोजमूलक रिपोर्टहरु अझै प्रकाशन हुन नसकेको बताइन । उनले यी समस्याको जरामै पुगेर उपचार गर्नुपर्ने आवश्यकता औल्याइन ।

त्यसैगरी कार्यक्रममा एटविनबाट सुनिता दनुवारले नेपाल सरकारको नीतिमा नै ठूलो समस्या रहेकोले मिडियाले राज्यको नीति बदल्नका लागि वातावरण निर्माण गर्नुपर्ने कुरामा जोड दिइन । विदेशमा बेचिएकाहरुलाई उद्धार गरी स्वदेश फर्काउनका लागि सरकारको नीति नै बाधक बनेको उनको भनाइ थियो ।

कार्यक्रमा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु, यस क्षेत्रमा कार्यरत संघ संस्थाका प्रतिनिधिहरु र एटविनका कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।

Loading...