घ्याङडाँडामा ४५ यात्रु चढेको ट्रक दुर्घटनामा पर्दा १७ जनाको मृत्यु

नुवाकोट, २८ मंसिर । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा मिनी ट्रक आइसर दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।

बा३ख ३९१३ नम्बरको आइसर ट्रक दुर्घटना हुँदा घाइते भएका १५ जनालाई उद्दार गरी उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी भीमलाल भट्टराईका अनुसार ४५ जनाभन्दा धेरै सर्वसाधारण आइसरमा चढेका थिए। १७ जनाको शव निकाली सकिएको प्रहरीले पुष्टि गरेको छ।

खोँच रहेको उक्त क्षेत्रमा उद्दार कार्य र खोजी कार्य चलिरहेको छ। सिसिफुका सर्वसाधारण चढेको मिनी ट्रक दुर्घटनामा परेको हो।

ट्रकको डालोमा धेरै यात्रु रहेको प्रहरीले जनाएको छ। दुर्घटनास्थलमा उद्दार कार्यका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट पनि प्रहरी टोली पुगेको छ।

ट्रक करिब ५ सय मिटर तल खसेको छ। दुर्घटनास्थल सदरमुकामबाट ३ घण्टाको दुरीमा रहेको छ।

Loading...