भ्वाइस अफ नेपालमा चार प्रतिस्पर्धी फाइनलमा प्रवेश

काठमाडाैं, २८ मंसिर । नेपालको चर्चित रियालिटी शो ‘टीभीएस अपाचे दि भ्वाइस अफ नेपाल’ आइतबारको कार्यक्रमदेखि फाइनलमा प्रवेश गरेको छ । फाइनलमा चारै जना निर्णायक दीप, अभया, सनुप र प्रमोदका टिमबाट एक/एक प्रतियोगीहरू प्रवेश गर्न सफल भएका छन् ।

यसअघि सेमी फाइनल पुगेका ८ जना प्रतियोगीमध्ये प्रत्येक टिमबाट एक/एक प्रतियोगीहरू फाइनलमा प्रवेश गरे । फाइनलमा सिडी विजय, कुशल, सप्तक र श्रृजय फाइनलमा जान सफल भएका छन् । यी चार जनामध्येबाट नै ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’को टाइटल जित्नेछन् । आइतबार ‘टीभीएस अपाचे दि भ्वाइस अफ नेपाल’ चारै फाइनलिस्टहरू सिडी विजय, कुशल, सप्तक र श्रृजयले आ–आफ्नो प्रस्तुति दिए ।

प्रतियोगीहरूको प्रस्तुतिपछि चारै कोचहरूले आफ्नो टिमका प्रतिस्पर्धीहरूका लागि समेत भोट अपिल गरेका छन् । निर्णायकहरूले आफ्नो टिमका प्रतियोगीहरूलाई भोट दिएर ‘टीभीएस अपाचे दि भ्वाइस अफ नेपाल’ को विजेता बनाउन हार्दिक अनुरोधसमेत गरेका छन् ।

‘टीभीएस अपाचे दि भ्वाइस अफ नेपाल’ आइतबारको कार्यक्रमपछि फाइनलिस्टहरूका साथै सेमिफाइनलमा पुगेका टप ८ जनाले ग्रान्ड फाइनलमा आफ्नो प्रस्तुति दिनेछन् । कतार, दोहाको एमपी थिएटरमा मंसिर २८ गते शुक्रबार हुने ग्रान्ड फाइनल नेपालमा कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ । यो विशेष कार्यक्रममा प्रतियोगीहरूका साथै अन्य नेपाली कलाकारहरूले पनि आफ्नो कलाद्वारा दर्शकहरूलाई मनोरन्जन प्रदान गर्नेछन् ।

कार्यक्रममा चर्चित हास्य कलाकार सिताराम धुर्मुस र कुन्जना सुन्तलीको पनि प्रस्तुति हुनेछ । त्यसैगरी ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ का अन्य सहभागीहरूले पनि आफ्नो कला प्रस्तुत गर्नेछन् । विदेशमा बस्नुभएका नेपालीहरूले आगामी मंसिर २८ गते शुक्रबार बेलुकी ८ बजेसम्म हरेक दिन एउटै आइडीबाट ५० वटासम्म भोट गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

Loading...