नेकपामा चरम विवाद माधव, झलनाथ, वामदेव र नारायणकाजीको विद्रोह

केपी र प्रचण्डले चरम अपमान गरेको माधव, झलनाथ, बामदेव र नारायणकाजीको आरोप

काठमाडाैं, २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र फेरि विवाद चुलिएकाे छ । लामाे समयदेखि बैठक नै नबसेर एकलाैटी पार्टी चलाएकाे भन्दै नेताहरुकाे चर्काे अालाेचना भइरहेका बेला पार्टीका शिर्ष नेताहरुबीच ठूलाे मनमुटाव रहेकाे कुरा बाहिर अाएकाे छ ।

यसैबीच नेकपाका शिर्ष चार नेताले बैठकस्थलबाट विद्राेह नै गरेर हिडेका छन् । नेकपाका दुर्इ अध्यक्ष केपी अाेली र पुष्पकमल दाहाल प्रचण्डले बैठकमा कुराएपछि अाक्राेशित भएका चार नेताहरु केही समय कुरेर निस्केका हुन् । यसरी बैठक बहिस्कार गर्ने नेकपाका नेताहरुमा पूर्व प्रधानमन्त्री भइसकेका माधव कुमार नेपाल, झलनाथ खनाल र उपप्रधानमन्त्री भइसकेका बामदेव गाैतम र नारायणकाजी श्रेष्ठ रहेका छन् ।

नेकपाकाे सचिवालयकाे बैठक शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बाेलाइएकाे थियाे । दिउसाे तीन बजेका लागि बाेलाइएकाे बैठकमा यी चार नेता समयमै पुगेका थिए । तर, पार्टीका अध्यक्षद्वय बैठकमा समयमा अाएनन । केही समय कुरेपछि यी चार प्रमुख नेताहरु अाक्राेशित हुँदै बैठकस्थलबाट जुरुक्क उठेर बालुवाटारबाट बाहिरिए । लामो समयसम्म कुराएर आफूहरुको अपमान गरेको भन्दै अाफूहरुले बैठक बहिस्कार गरेर बताएका छन् ।

बालुवाटार स्राेतका अनुसार नेताहरू साढे तीन बजे बैठकस्थल छाेडेर बाहिरिएका हुन् । यता चार नेताहरु रिसाएर बाहिर निस्किरहँदा उता प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी अाेली र अर्का अध्यक्ष प्रचण्ड बालुवाटारभित्रै अर्काे काेठामा थिए । अर्काे काेठामा भेटघाटमा व्यस्त रहेका दुबै अध्यक्षले वालै नदिएकाे महशुस चार नेताले गरेकाे बताइन्छ । त्यसलार्इ अाफूहरुमाथि भएकाे चरम अपमानका रुपमा उनीहरुले लिएका छन् । स्राेतका अनुसार यति चर्काे अाक्राेश लामाे समयदेखिकाे यस्तै व्यवहारका कारण निस्किएकाे हाे । पहिले पहिले पनि यसरी नै लामाे समय कुराउने गरेकाे र यसपटक धेरै भएपछि चार नेताले व्यक्त गरेेकाे अरु नेताहरु बताउँछन ।

शिर्ष चार नेताहरु बाहिरिए पनि बाँकी नेताहरु बसेर त्यसबारे केही छलफल गरेका थिए । बैठकमा अध्यक्षद्धय ओली, र प्रचण्ड, महासचिव विष्णु पौडेल, रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा सहभागी थिए । साे बैठकले स्थायी समितिको बैठक मंसिर २९ गतेका लागि बोलाउने निर्णय गरेको बताइएकाे छ । बैठक मंसिर २९ गते अपरान्ह १ बजे पार्टीको केन्द्रीय कार्यालय धुमबराहीमा बस्ने निर्णण भएकाे महासचिव बिष्णु पाैडेलले जानकारी दिएका छन् ।

नेकपामा अध्यक्षद्धय केपी शर्मा ओली र ‘प्रचण्ड’ले एकलौटीरुपमा पेलेर अगाडि बढेको आरोप अरु नेताहरुले लगाउँदै अाएका छन् । खासगरी चार नेताले नेकपाकाे प्रदेशको पदाधिकारी र प्रदेश कमिटी चयनमा अध्यक्षद्धय ओली र प्रचण्डले एकलौटी निर्णय गरेको अाराेप लगाएका छन् ।

बाहिरिएका नेताहरुले १५ मिनेटसम्म बैठक सुरु नभएपछि स्वतः नबस्ने कार्यविधि बनाइएको जानकारी सञ्चारमाध्यमलार्इ दिएका छन् । साथै उनीहरुले अब बैठक वालुवाटारमा होइन, पार्टी कार्यालयमा बस्नुपर्ने पनि जाेड दिएका छन ।

सचिवालय बैठकबाट पारित भएको प्रदेश कमिटीलाई पूर्णता दिने अन्तिम निर्णय स्थायी समिति बैठकबाट गर्नुपर्ने सहमति भए पनि अध्यक्षयद्ध ओली र प्रचण्डको निर्देशनमा महासचिव पौडेलले नामावली सार्वजनिक गरेपछि नेकपाभित्र अर्काे विवाद सृजना भएको छ ।

यसैबीच महासचिव पाैडेलले चार नेताकाे अाक्राेश के कारणले देखियाे भन्ने कुरा बुझ्नै नसकिएकाे प्रतिक्रिया दिएका छन् । महासचिव पाैडेलले दिएकाे प्रतिक्रिया यस्ताे छ:

सचिवालय बैठक शनिवार ३ बजे बालुवाटारमा डाकिएको थियो । म ३ बजे नै बैठककक्षमा पुगेको थिएँ, त्यतिवेला माधव नेपाल आइसक्नुभएको थियो । उहाँलाई अध्यक्षद्वय अर्को कोठामा परामर्शमा हुनुहुन्छ, सुरु हुने वेला आइपुग्नुहुन्छ भन्ने जानकारी गराएर म काममा अर्को कक्षतिर लागेँ ।

त्यसबीचमा अरू कमरेडहरू पनि आइपुग्नुभो । उहाँहरू सवा ३ बजेसम्म बस्नुभो र बाहिरिनुभो । उहाँहरू किन बाहिरिनुभो अचम्मित भएका छौँ । एक्कासि असिना बर्सेजस्तो, ठूलै आपत् परेजस्तो गरेर किन बाहिरिनुपर्‍यो ? कारण बुझ्न सकिएको छैन ।

खासमा अध्यक्षद्वय बैठककक्षमा आउँदै गर्दा उदयपुर जिल्लाबाट ०६४ मा प्रत्यक्ष निर्वाचित सांसद मणि खम्बू भेट्न आउनुभएको थियो ।

लामो समय जनयुद्ध र जनआन्दोलनमा योगदान गर्नुभएको उहाँ क्यान्सरपीडित एकल महिलासमेत हुनुहुन्छ । प्रधानमन्त्री र अध्यक्षले उहाँसँग स्वास्थ्य स्थितिबारे जानकारी लिएर सरकार र पार्टीले गर्न सक्ने सहयोगबारे कुराकानी गर्दा १५ मिनेट ढिलो भएको सत्य हो । तर, बैठककक्षमा आउँदै गर्दा उहाँहरू बाहिरिसक्नुभएको थियो ।

Loading...