नेपालमा अन्तर्राष्ट्रिय बडिबिल्डिङ च्याम्पियनसिप हुँदै

काठमाडौँ, २१ मङ्सिर । अन्तर्राष्ट्रिय फिटनेश फर बडिबिल्डिङ (आइएफबिबी) लिग नेपालको आयोजनामा अन्तर्राष्ट्रिय बडिबिल्डिङका हस्ती सम्मिलित ‘प्रोफेसनल लिग बडिबिल्डिङ च्याम्पियनसिप–२०१९’ हुने भएको छ ।

नेपालमा पहिलो पटक उक्त च्याम्पियनसिप फागुन ३ र ४ गते हुन लागेको हो । च्याम्यिनसिपमा २० भन्दा बढी राष्ट्रका खेलाडीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका अध्यक्ष सानु गुरुङले जानकारी दिए । एक करोड ८८ लाख ४२ हजार खर्च हुने सो च्याम्पियनसिपमा करीब २०० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक संस्थाले जनाएको छ । यस्तै अमेरिकामा आइएफबिबी प्रोफेसनल लिगले आयोजना गर्ने शारीरिक सुगठनको विश्वकप मानिने ‘मिस्टर ओलम्पिया’मा नेपाली खेलाडीको सहभागिता रहनेछ ।

उक्त प्रतियोगितामा सहभागिता जनाउन लामो समयको प्रयासपछि नेपालले पहिलोपटक चार प्रो कार्ड पाएको अध्यक्ष गुरुङले बताए । नेपालले पुरुष फिजिक्स, क्लासिक फिजिक्स, पुरुष बडिबिल्डिङ र महिला सुगठनतर्फको प्रो कार्ड पाएको छ । विश्वभरिका खेलाडीले यी चार प्रो कार्ड जितेर प्रत्येक वर्ष अमेरिकाको लस भेगासमा आयोजना हुने ‘मिस्टर ओलम्पिया’मा भाग लिन प्रतिस्पर्धा गर्दै आएका छन् ।

Loading...