विमल घर्तीमगरले ए डिभिजन लिगका खेल नखेल्ने

काठमाडौँ, १८ मङ्सिर । यसै वर्षदेखि ए डिभिजन लिगमा डेब्यु गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरले लिगका बाँकी खेल नखेल्ने भएका छन् ।

च्यासल युथ क्लबका स्ट्राइकर विमल ट्रायल दिन बेल्जियम जाने भएपछि लिगका बाँकी खेल नखेल्ने भएका हुन् । विमल ट्रायलका लागि बुधबार बेल्जियम जानेछन् । बेल्जियम जाने भएपछि विमलले च्यासलसँगको सम्झौता सहमतिमा रद्द गरेका छन् ।

विमलले लिगका खेल गुमाउने पुष्टि गर्दै च्यासल युथ क्लब, अफिसियल र शुभचिन्तकलाई धन्यवाद दिएका छन् । फेसबुकमार्फत उनले ए डिभिजन लिगमा डेब्यू गर्दा खुसी लागेको बताएका छन् । तर च्यासलले राम्रो शुरुवात गर्न नसकेको बताएका उनले च्यासलसँगको यात्रा सकिएको लेखेका छन् ।

भारत, बेल्जियम र नेदरल्याण्डसमा समेत व्यावसायिक फुटबल खेलिसकेका विमल ‘ए’ डिभिजन लिगमा भने यसै वर्षदेखि डेब्यु गरेका हुन् । विमलले यसअघि विसं २०७१ को राष्ट्रिय लिगमा सुदूरपश्चिमबाट खेलेका थिए । एन्फाको बुटवल एकेडेमीमा विसं २०६७ मा प्रवेश गरेका विमलले त्यहाँ रहेर दुई वर्ष प्रशिक्षण गरे ।

सन् २०१२ को एएफसी यू–१४ फेस्टिभलमा राम्रो प्रदर्शन गरेपछि उनलाई राजधानीको एकडेमीमा ल्याइयो । राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक कृष्ण थापाले १४ वर्षकै उमेरमा उनलाई राष्ट्रिय टोलीबाट खेलाएका थिए ।

Loading...