व्यापक विराेध भएपछि इन्धनमा गरिएको करबृद्धि फ्रान्सेली सरकारले लियाे फिर्ता

एजेन्सी । फ्रान्सले इन्धनमा लगाइएको करवृद्धि तत्कालका लागि फिर्ता लिएकाे छ । फ्रान्सका प्रधानमन्त्री इडवार्ड फिलिपले मङ्गलबार साे जानकारी गराएका हुन् ।

फ्रान्समा इन्धनमा करवृद्धि गरेको भनी विगत दुई हप्तादेखि पहेलो पहिरनधारी सवारी साधन धनीहरूले गरेमा प्रदर्शनले हिंसात्मक रूप लिन थालेपछि यहाँको सरकारले आगामी छ महिनाका लागि स्थगित गर्ने निर्णय लिएको हो ।

इन्धनमा बढाएको करका कारण मुलुकको एकतालाई खतरामा पार्न सक्दैन, प्रधानमन्त्री फिलिपले टेलिभिजनमार्फत गरेको सम्बोधनमा बताए । उनले थपे, “इन्धनमा गरेको मूल्यवृद्धिको विरोधले सडकमा गम्भीर समस्या उब्जाएको छ र कसैको स्वार्थका लागि भएको प्रदर्शनले नागरिकहरूको ससम्मान बाँच्न र हिडडुल गर्न पाउने अधिकारलाई अन्यायपूर्ण रूपमा बञ्चित गरेको देखियो, तत्कालका लागि निर्णय स्थगित भएको जानकारी यसै सम्बोधनमार्फत गराउन चाहन्छु ।”

उनले थपे, “आगामी दिनमा गरिने आन्दोलनलाई पहिल्यै घोषणा गर्ने र प्रदर्शनलाई मर्यादित तथा शान्तिपूर्ण बनाउन प्रदर्शनकारीलाई आग्रह गरिन्छ ।”

दक्षिणी फ्रान्सको अर्लिसमा सरकारविरोधी प्रदर्शनका क्रममा १० किलोमिटर सडक अवरूद्ध गर्ने क्रममा एउटा भ्यान र ट्रक एक आपसमा ठक्कर खाँदा भ्यानका चालकको मृत्यु भएको थियो भने सरकार विरोधी आन्दोलनमा २६३ जना घाइते बनेका थिए ।

अर्जेन्टिनामा भएको जी–ट्वान्टी सम्मेलनमा सहभागी भै आइतबार स्वदेश फर्किएका म्याक्रोँले प्रधानमन्त्री, गृहमन्त्री, तथा उच्च अधिकारीलाई बोलाई समस्याबारे जानकारी लिएका थिए । राष्ट्रपतिले आफुलाई हिंसा कदापि मान्य नहुने बताएका थिए । राष्ट्रपतिले दुई दिन पहिले अर्जेन्टिनामा पत्रकारसँगको कुराकानीमा कुनै पनि कारणले सरकारी अधिकारी, पत्रकार र व्यवसायीमाथिको आक्रमणलाई पुष्टि गर्न नसक्ने बताएका थिए ।

Loading...