विदेशमा कमाएर पठाएको पैसाले मस्ती गर्ने श्रीमती विरुद्ध श्रीमान अदालतमा

काठमाडाै‌, १३ मंसिर । रोल्पा जिल्ला अदालतमा १ भदौ यता आठ पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन्। नयाँ मुलुकी संहिता जारी भएसँगै जिल्ला अदालतमा यस्ता मुद्दा आउने क्रम बढेको रोल्पा जिल्ला अदालतले जनाएको छ।

वैदेशिक रोजगारीबाट पठाएको पैसा दुरुपयोग गरेको, घर व्यवहार राम्रोसँग नचलाएको, लामो समयसम्म माइत बसेको जस्ता आरोपसहित ती पुरुषले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएका हुन्।

महिलाले मात्रै यस्ता मुद्दा दायर गर्ने गरेकामा पछिल्लो मुलुकी संहिताले पुरुषलाई समेत सम्बन्धविच्छेद गर्न सक्ने बाटो खुला गरेसँगै पुरुषले समेत मुद्दा दर्ता गर्न थालेका रोल्पा जिल्ला अदालतका तामेलदार डिठ्ठा झक्कुप्रसाद आचार्यले बताए।

महिलाले दायर गर्ने सम्बन्धविच्छेदका मुद्दामा भने मादक पदार्थ सेवन गरी निरन्तर घरेलु हिंसा गरेको, बहुविवाह गरेको, खानलाउन नदिएको जस्ता आरोप हुने गरेका छन्।

उमेर नपुग्दै विवाह गर्ने महिला उमेर पुगेपछि सम्बन्धविच्छेदका लागि अदालत धाउने क्रम पनि वढेको अदालतका मेलमिलापकर्ता तीर्था आचार्यले जानकारी दिए।

Loading...