मापसे गरेर सवारी चलाउने महिलाको संख्या ह्वात्तै बढे

काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्दै गएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा चालु आवमा मापसे गरी सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइएको छ ।

आव २०७४/७५ मा ३२६ महिलाले मापसे सम्बन्धी चेतनामूलक कक्षा लिएका थिए । चालु आवको चार महीनामा मापसे गरी सवारीसाधन चलाएका ३४१ महिलाले सो कक्षा लिइसकेको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए ।

“पछिल्लो समय मापसे गरेर सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइयो,” उनले भने “महीलामा मापसे गरी सवारीसाधन चलाए पनि प्रहरीले जाँच गर्दैन भन्ने मानसिकता रहेको पाइयोे ।”

लेन अनुशासनतर्फ आव २०७४/७५ मा तीन हजार २५२ महिलाले चेतनामूलक कक्षा लिएका छन् भने चालु आवको चार महीनामा ७५२ महीलाले सो कक्षा लिएका छन् ।

आव २०७४/७५ मा सवारी दुर्घटना गराउने २० महिलाले कक्षा लिएका थिए भने चालु आवको चार महीनामा सो कक्षा लिने महीलाको सङ्ख्या दुई रहेको महाशाखाले जनाएको छ ।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने काठमाडौँ उपत्यकामा मात्र झण्डै आठ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् ।

Loading...