वायुसेवा निगमको वाइड बडीमा ६ अर्ब ५९ करोड घोटाला प्रकरण, लेखा समितिले खोल्यो रहस्य

काठमाडौं । सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिद गर्दा धेरै त्रुटी भएको र ६ अर्ब ५९ करोड रुपैयाँ घोटाला भएको जिकिर गरेको छ ।

विमान खरिद प्रकरणबारे आइतबार पर्यटन मन्त्रालयका सचिव, नेपाल वायुसेवा निगमका उच्च अधिकारीसँग जानकारी लिदै समितिले यस्तो दाबी गरेको हो ।

समितिका सभापति भरत शाहले विमान किन्दा ६ अर्ब ५९ करोड रुपैयाँ घोटाला भएको देखिएको दाबी गरे । समितिले निगमसँग धेरै प्रश्नको उत्तर खोजेको छ ।

समितिका सभापति शाहले हवाई सेवामा संलग्न व्यवसायीहरुका अनुसार हवाई जहाज खरिदमा उत्पादकहरुले १० प्रतिशत क्रेतालाई कमिशन आउने गरेको जिकिर गरे । २४ अर्ब रुपैयाँ खर्चेर विमान खरिद गर्दा निगमलाई आउनुपर्ने २ अर्ब ४० करोड रुपैयाँ कमिसन कता गयो भनेर निगमका अधिकारीलाई उनले प्रश्नसमेत गरे ।

‘कमिसन, अधिकतम उडान भार कटौती र मुल्यान्तरसमेत गरी २४ अर्बको खरिदमा ६ अर्ब ५९ करोड घोटाला भएको देखिन्छ । यसमा निगमको भनाइ के छ ?’ भन्दै उनले पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, निगमका कार्यकारी अध्यक्ष मदन खरेल र महाप्रबन्धक सुगतरत्न कंसाकारलाई प्रश्न गरे ।

विमान खरिदबारे सरकारी अधिकारीले चित्तबुझ्दो जवाफ दिन नसकेको भन्दै सांसदहरुले पनि आपत्ति जनाएका थिए ।

विमान खरिद प्रक्रियामा सुरुदेखि नै सामेल निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले पुरानै सार्वजनिक खरिद ऐन अनुसार विमान खरिद गरिएको बताए । उनले विमान खरिदमा भ्रष्टाचार नभएको दाबी गर्दै निगम नडुब्दै भन्दै ढुक्क हुन सांसदहरुलाई आग्रह गरे ।

पर्यटन मन्त्रालयका सचिव देवकोटा, कार्यकारी अध्यक्ष खरेलले निगमको अवस्थाबारे समितिलाई जानकारी गराएका थिए । समितिले अर्को बैठकमा थप छलफल गरेर अगाडि बढ्ने जनाएको छ ।

Loading...