टोखामा चार महिना लामो भजन उत्सवको उल्लास

   चार महिनाअघिदेखि टोखामा चलिरहेको परम्परागत चतुर्मास भजन अन्त्यतिर आइपुगेको छ । टोखा सांस्कृतिक संरक्षित क्षेत्रभित्र रहको प्राचीन टोखा नगरभित्र नियमित रुपमा राति राति परम्परागत बाजा सहित भजन गाउने परम्परा अन्तर्गत ५ वठा दाफा समूह र एकवटा भजन समूहले भजन गाउँदै आइरहेको छ । भोलि पूर्णिमासम्म चल्ने भजनको अवलोकन गर्न गएराति पूर्व उपप्रधान तथा गृह र रक्षामन्त्री भीम रावल दलबल सहित पुग्नुभएको थियो । उहाँहरुलाई टोखा संस्कृति सम्पदा संरक्षण दबूका अध्यक्ष मनिराज डंगोल सहितका टोलीले स्वागत गर्दै भजनस्थल अवलोकन सहित व्याख्या गर्नुभएको थियो । त्यसक्रममा हाल प्रतिनिधिसभाका सदस्य रहनुभएका रावलले टोखाका सांस्कृतिक सम्पदा र परम्परा संरक्षण कार्य आफूले सहयोग गर्न चाहेको विचार व्यक्त गर्नुभयो ।

उहाँले टोखाका स्थानहरुका नामांकरण प्राचीनताको झलक आउने गरी पुरानै हुनुपर्नेमा पनि जोड दिनुभयो । त्यसक्रममा उहाँले कविता वाचन समेत गर्नुभएको थियो । कार्यक्रममा नेपालभाषाका कवि धर्मराज राजकर्णिकारले पनि कविता सुनाउनुभएको थियो ।

भजन निरिक्षण गर्ने कार्यक्रममा प्राचीन टोखा वरीपरीका ठूलो संख्यामा स्थानीयको सहभागिता रहेको थियो । टोखाको चतुमास भजन चार महिनानासम्म चल्ने भएकाले सम्भवतः विश्वकै सबैभन्दा लामो परम्परागत संगीत उत्सव परम्परा हुनसक्ने टोखावासीको भनाई रहेको छ । 

Loading...