यस वर्ष करिव ९ लाख पर्यटक नेपाल आए, अहिलेसम्मकै बढी पर्यटक भित्रिए यसपटक

काठमाडौं । यस वर्ष अहिलेसम्मकै बढी पर्यटक भित्रिएका छन् । सन् २०१८ को जनवरीदेखि अक्टुबर महिनासम्म ८ लाख ८२ हजार पाँच सय ३१ पर्यटकले नेपाल भ्रमण गरेका छन्।

गत वर्ष सोही अवधिमा ७ लाख ५७ हजार चार सय ४८ पर्यटकले नेपाल भ्रमण गरेका थिए। गत वर्षको तुलनामा पर्यटकको आगमन १६ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ। अध्यागन विभागका अनुसार, अक्टुबर महिनामा यस वर्षकै धेरै एक लाख ९ हजार सात सय ३३ पर्यटकले नेपाल भ्रमण गरेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सन् २०१७ मा नै पर्यटक आगमन १० लाख पुग्ने आँकलन गरे पनि उक्त अनुमान अनुसार पर्यटक आगमन भने भएन । सन् २०१७ मा वर्षभरीमा कुल ९ लाख ४० हजार दुई सय १८ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

नेपाल भ्रमण गर्ने सबैभन्दा बढी पर्यटक छिमेकी भारत र चीनबाट आएका छन्।सन् २०१८ को दश महिनामा भारतबाट १ लाख ६१ हजार नौ सय ६३ पर्यटक नेपाल भित्रिएका छन् कैलाश मानसरोबर तीर्थाटनका लागि भारतबाट नेपाल आउने पर्यटकको संख्या उच्च छ ।

त्यस्तै भारत सरकारले वस्तु तथा सेवा कर (जीएसटी) मार्फत् होटलहरुलाई विलासी सुविधाको रुपमा कर लगाएका कारण त्यहाँका होटलहरुको सेवा महँगो भएपछि सभा, सेमिनार, इन्सेन्टीभ तथा विवाहजस्ता सामाजिक कार्यक्रमका लागि मध्यमवर्गीय भारतीयको रोजाईमा नेपाल पर्ने गरेको छ ।

त्यस्तै चीनबाट कुल एक लाख २१ हजार चार सय १८ पर्यटक भित्रिएका छन्। पछिल्लो समय चिनियाँ पर्यटकको संख्या विश्वभर बढिरहेको छ। यस सन्दर्भमा नेपालले अझैं धेरै चिनियाँ पर्यटक भित्र्याउन पहल गरिरहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन्।

त्यस्तै सन् २०१८ को अक्टुबर महिनासम्म संयुक्त राज्य अमेरिकाबाट ७३ हजार ६ सय ७७ र बेलायतबाट ५० हजार एक सय ६१ पर्यटकले नेपाल भ्रमण गरेका छन्। त्यस्तै, दक्षिण एसियाली देशहरु श्रीलंका र बंगलादेशबाट आउने पर्यटकहरुको संख्या पनि बढ्दो क्रममा छ ।

यो अवधिमा ४६ हजार २८० श्रीलंकाली र २१ हजार एक सय १० बंगली नागरिकले नेपाल भ्रमण गरेका छन्।

Loading...