सहकारीमार्फत महिला उद्दमशीलता प्रवद्र्धनमा जोड

    ललितपुर जिल्लालाई हालै विश्व हस्तकला परिषदले गरेको क्राफ्ट सिटीको घोषणालाई व्यवहारिक बनाउन सहकारीमाफत महिला उद्दमशीलता प्रवद्र्धनमा वक्ताहरुले जोड दिएका छन । ललितपुरमा परम्परागत गरगहना तथा हस्तकलामा जोडिएका महिला, नगरवासी व्यवसायीहरुको बाहुल्यता रहेको ज्वेल्स बचत तथा ऋण सहकारीको नवौं वार्षिक साधारण सभामा उपस्थित विशिष्ट अतिथि लगायत प्रदेश ३ का प्रदेश सभासद शोभा शाक्यले समेत उक्त कुरामा जोड दिएका हुन । “सहकारी क्षेत्रमा महिला प्रवद्र्धन भन्नु नै परिवार र समाजको बचत अवधारणा सँगै गृहिणीहरुको लघु उद्योगमा समेत सहभागिता बढाउने सहज उपाय हो,” सभासद शाक्यले भनिन, “क्राफ्ट सिटी घोषणा भएको सन्दर्भ र यस सहकारीमा पुरुष भन्दा महिला सदस्य संख्या अधिक रहेको आधारमा अब महिलाहरुलाई थप उद्दमशीलतातर्फ लैजाने योजना बनाउन विशेष आग्रह गर्दछु ।” हस्तकला प्रवद्र्धनको कुरा सँगै प्रदेशसभामा हाल बजारमा मेशीनबाट उत्पादन गरिने मूर्तिकलाको विरोधसमेत गरेको बताउँदै उनले सहकारी क्षेत्रलाई महिला उद्दमशीलता उन्मुख बनाउन आवश्यक आवाज तथा सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । स्वागत मन्तव्यका क्रममा अध्यक्ष किरणभाई बज्राचार्यले सरकारले ३ खम्बे अर्थनितिमा सहकारीलाई समेट्ने भनेपनि सहकारी ऐन २०७४ का केही बुँदाहरु अव्यवहारीक र हतोत्साहीत गर्ने खालको भएकोमा ध्यानाकर्षण गराए । स्थानीय निकायमा जनप्रतिनिधिहरुको उपस्थिति भएको अवस्थामा कमसेकम ऐन अन्तर्गत बन्दै गरेको नियमावलीमा परिमार्जन सहित सहकारी क्षेत्रले आफ्ना सदस्यहरुको हितमा काम गर्ने वातावरण बनाइदिने कुरामा उनले विश्वास व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडका वरिष्ठ उपाध्यक्ष परितोष पौड्याल र नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिक रत्न शाक्यले सहकारी क्षेत्रको विकास हवाइजहाजको उडानसँग तुलना गर्दै उडान भर्न गति लिइसकेको अवस्थालाई ध्यानमा राखेर सबै सरोकारवाला निकायले संगठित पाइला चाल्नुपर्ने बताए । ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन, अन्तर सहकारी सुरक्षण कोषका अध्यक्ष नेमवीर शाक्य लगायतका वक्ताहरुले सहकारी क्षेत्रको विकासले नीजि क्षेत्रको विकासमा समेत आधारभूत प्रारम्भ विन्दुको भूमिका खेल्नेमा जोड दिएका थिए । अहिलेको समयमा महिलाहरुको हस्तकला लगायतका उद्योगहरुमा सक्रियताले सामाजिक आर्थिक विकास मार्फत राज्यको आर्थिक सम्बृद्धिको लक्ष्य हासिल गर्न उल्लेखनीय भूमिका खेल्नसक्ने उहाँहरुको भनाई रहेको थियो । ज्वेल्स साकोसमा पुनः किरणभाईको नेतृत्व “तपाईको विश्वास हाम्रो सफलता, हाम्रो सफलता तपाईको लाभ” नारा लिएर बचत तथा ऋण सहकारीमा पुनः किरणभाईको नेतृत्व चयन गरिएको छ । शनिवार पाटनढोका अशोक पार्टी पालेसमा सम्पन्न नवौं वार्षिकोत्सवको बन्द सत्रले बज्राचार्यलाई पुनः अध्यक्षमा चुनेको हो । नयाँ कार्यसमितिमा विपिन शाक्य उपाध्यक्ष, सुविन बज्राचार्यलाई सचिव, प्रज्ञाराज शाक्य कोषाध्यक्ष, सह सचिव र सह कोषाध्यक्षमा संजय शााक्य र तेज बहादुर बज्राचार्य चुनिएका छन । कार्यसमिति सस्यमा राजेश शाक्य, मोतीमान शाक्य, मोतीशान्ति शाक्य, राज्यलक्ष्मी बज्राचार्य, गिरेन्द्र शाक्य, हेराकाजी शाक्य र भिमरत्न शाक्य रहनु भएका छन । कार्यक्रमको उद्घाटन सत्रमा सहकारीका शेयरहोल्डर रहेका ६ जना जेष्ठ नागरिकहरुलाई नगद राशीसहित प्रमाण पत्र र दोसल्ला ओढाई सम्मानित गरिएको थियो । कार्यक्रममा हालै राष्ट्रपतिबाट पनि सम्मानित भएकी ज्वेल्स साकोसका शेयरहोल्डर समेत रहेकी करुणा लक्ष्मी शाक्यलाई समेत विशेष सम्मान प्रदान गरिएको थियो । यसकासाथै ३ जना उत्कृष्ट बचतकर्ता, ३ जना उत्कृष्ट ऋणी र आन्तरिक मूल्यांकनबाट ३ जना उत्कृष्ट कर्मचारीहरुलाई पनि मायाको चिनो, प्रमाण पत्र र दोसल्ला ओढाई सम्मानित गरिएको ज्वेल्स साकोस महिला उपसमितिका संयोजक मोतीशान्ति शाक्यले जानकारी गराएका छन ।

Loading...