कफीको माग बढ्यो तर अझै आयातित कफी प्रयोग, निर्यात बटेन

काठमाडौँ । मुलुकमा स्वदेशी कफीको उत्पादन बढेसँगै यसको प्रयोग पनि बढ्दै गएको देखिन्छ । कफीको उत्पादन बढिरहँदा आयात पनि बढ्नु तर निर्यात घट्नुले उत्पादित कफीको बजार नेपालभित्रै बढ्दै गएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । देशभर क्याफे हाउसहरूको विस्तारले नेपाली कफीको लोकप्रियता बढ्दै गएको पाइन्छ ।

पछिल्लो तथ्याङ्कअनुसार देशभर वार्षिक ५१३ मेट्रिक टन कफी ग्रिन बिन उत्पादन भएको देखिन्छ । गत वर्षको तुलनामा यो करीब १० प्रतिशतको वृद्धि हो । गत वर्ष ४६६ मेट्रिक टन कफी उत्पादन भएको थियो । यद्यपि गत वर्षको तुलनामा कफीको निर्यात भने करीब ११ प्रतिशतले घटेको तथ्याङ्कले देखाउँछ ।

बोर्डको आयोजनामा मंसिर १ गते शनिबार राष्ट्रिय कफी दिवस मनाउँदैछ । राष्ट्रिय कफी दिवसको १४ औँ संस्करणसम्म आउँदा नेपालले कफी क्षेत्रमा आशालाग्दो सफलता हासिल गरेको बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले जानकारी दिए ।

सोखका रूपमा मात्र उत्पादन गर्ने अवस्थाबाट विकसित हुँदै ग्रामीण कृषकको आयआर्जनको भरपर्दो स्रोतका रूपमा कफी बनेकोे छ । कफी नेपालको निर्यातजन्य कृषि उपजका रूपमा विश्व बजारमा एक छुट्टै पहिचान बनाउन सफल देखिएको छ ।

विभिन्न जिल्लामा बोर्ड तथा तत्कालीन जिल्ला कृषि विकास कार्यालय र गैरसरकारी संस्थाबाट कफीको विस्तारका लागि सञ्चालन गरेको कफी विस्तार कार्यक्रमको प्रभाव स्वरूप कफी रोपण क्षेत्र केही विस्तार हुँदा कफीको उत्पादन पनि बढेको हो । हाल कफीको कूल रोपण क्षेत्र २६५० हेक्टर पुगेको छ ।

बोर्डले गरेको अध्ययनबाट नेपालभर करीब ११ लाख ९८ हजार ५३५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्न सकिने र त्यसमध्ये ६१ हजार २२८ हेक्टर क्षेत्रफल कफी खेतीका लागि अति उत्तम रहेको देखिएको जनाएको छ । अति उत्तम क्षेत्रलाई मात्र आधार मान्दा पनि हाल करीब चार प्रतिशत क्षेत्रमा मात्र कफी उत्पादन भइरहेको देखिन्छ ।

कफीको यही सम्भाव्यतालाई मध्यनजर गरी कृषि मन्त्रालयको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गुल्मी, अर्घाखाँची, प्यूठान, पाल्पा र स्याङ्जाका कफी सम्भावित क्षेत्रलाई सुपर जोनका रूपमा विकास गरी कफीमा व्यावसायिकता बढाउने प्रयास गरेको छ ।

Loading...