यसरी भयाे सांसदहरुबीच कुटाकुट

काठमाडाैं । श्रीलंकाका सांसदहरूबीच कुटाकुट भएको छ। बिहीबार बिहान बसेको संसद बैठकमा दुई पक्षका सांसदबीच कुटाकुट भएको हो।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सेता लुगा लगाएका सांसदहरू रोस्टममा आएर एकअर्कालाई धकेलाधकेल गरिरहेका देखिन्छन्। केहीबेरमा उनीहरूले मुक्का प्रहार गर्छन्। त्यहीबेला भुइँमा लडेका सांसदलाई विपक्षी सांसदले लात्ताले हान्छन्।

कुटाकुटमा परी घाइते भएका एक जना सांसद दीलिप अमुनुगामालाई अस्पताल भर्ना गरिएको छ। महिन्दा राजापाक्षे समर्थक सांसद अमुनुगामा सभामुख कारू जयासूर्याको माइक खोस्न लागेका थिए।

आजको बैठकको सुरूमा सभामुख जयसूर्याले देशमा अहिले कोही पनि प्रधानमन्त्री नभएको बताएका थिए। उनले बुधबारमात्रै अविश्वासको मत पारित भएका महिन्दा राजापाक्षे र अघिल्लो महिना राष्ट्रपति मैत्रीपाला सिरिसेनाले अपदस्त गरेका रनिल विक्रमासिंघे दुबैको मन्त्रिपरिषद् नरहेको बताए।

त्यसको केहीबेरमा सांसदहरू उनको कुर्सीतिर गएका थिए। कुटाकुटका बेला राजापाक्षे केही पर कुर्सीमा बसिरहेका थिए। अघिल्लो महिना सिरिसेनाले अचानक विक्रमासिंघेलाई हटाएर पूर्वराष्ट्रपति राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेपछि श्रीलंका राजनीतिक संकटमा फसेको छ।

संसद विघटन गरेर आमनिर्वाचन घोषणा गरेका सिरिसेनाको निर्णय सर्वोच्च अदालतले उल्टाइदिएपछि संकट झन गहिरिँदै गएको छ।

Loading...