सञ्चय कोषले ल्यायो अहिलेसम्मकै ठूलो विमा योजना, ११ लाखको स्वास्थ्य बिमा, ६ लाखलार्इ दिने

काठमाडौं । कर्मचारी सञ्चय कोषले ६ लाखभन्दा बढी सञ्चयकर्तालाई ११ लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ।यसका लागि कोषले प्रतिव्यक्ति चार सय २० रुपैयाँका दरले बिमा कम्पनीलाई प्रिमियम शुल्क बुझाउने छ । कोषले सबै सञ्चयकर्ताबाट वार्षिक २५ करोड २० लाख रुपैयाँ प्रिमियम तिर्नेछ।यो रकम मूल्य अभिवृद्धि कर बाहेकको हो।यसमा सबै सञ्चयकर्ताले सुविधा पाउने कोषले जनाएको छ ।

पहिलोपटक व्यवसायिक कम्पनीले वार्षिक चार सय २० रुपैयाँ प्रिमियम शुल्क लिएर ११ लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा सुविधा दिन लागेको हो।सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा प्रतिव्यक्ति चार सय २५ रुपैयाँ लिएर ५० हजारसम्मको सुविधा दिने व्यवस्था छ।उक्त व्यवस्थामा परिवारका पाँच सदस्यले सेवा पाउने छन् । सरकारी बिमा कार्यक्रममा सहभागी हुन पाँच सदस्य भएको परिवारले वार्षिक दुई हजार पाँच सय रुपैयाँ प्रिमियम शुल्क बुझाउनु पर्नेछ।सञ्चयकोषले भने बिना प्रिमियम ११ लाखसम्मको निःशुल्क बिमा सुविधा दिने भएको हो ।

सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत कार्यान्वयनमा ल्याइएको यस योजनाबाट सरकारले पहिचान गरेका क्यान्सर, मिर्गौला फेल, हृदयघात, प्यारालाइसिसलगायतका नौ वटा घातक रोग लागेमा १० लाख र सामान्य रोगका लागि एक लाख रुपैयाँको बिमा सुविधा पाइने कोषका प्रशासक तुलसीप्रसाद गौतमले जानकारी दिए । ‘कोषले आम्दानी गरेको मुनाफाबाट प्रति सञ्चयकर्ता चार सय २० रुपैयाँका दरले वार्षिक प्रिमियम शुल्क बुझाएर सञ्चयकर्तालाई यो सुविधा दिन लागिएको हो’, उनले भने ‘सञ्चयकर्ताले ३ वर्षसम्म यो सुविधा पाउने छन् ।’

प्रत्येक वर्ष बिमा लेखा नवीकरण हुनेछ।बिमा लेखा नवीकरण गर्दा अघिल्ला वर्षमा दाबी भुक्तानी भएको रकम र सञ्चयकर्ताको थपघट तथ्यांकलाई आधार मानिने कोषले जनाएको छ । यो सुविधा लिन कोषमा नियमित रूपमा ६ महिना पहिले सञ्चयकोष बापतको रकम जम्मा भएको हुनुपर्नेछ।सरकारबाट स्वीकृत प्राप्त जुनसुकै अस्पताल र सम्बन्धित डाक्टरको सिफारिसमा विदेशमा गराएको उपचारको समेत बिमा सुविधामा समेटिने छ।क्लिनिकमा गराइएको उपचारमा भने सो सुविधा समावेश हुँदैन ।

यो योजनामा कोषमा नियमित रूपमा कोष कट्टी गर्ने सञ्चयकर्ताका साथै सेवा निवृत्त भएपछि आफै प्रिमियम तिरेर पनि समावेश हुन सकिने व्यवस्था छ।सेवा निवृत्त भएका तर कोषबाट रकम भुक्तान नलिएका सञ्चयकर्ताले ६ वर्षसम्म यो सुविधा प्राप्त गर्न सक्ने छन् ।

कोषले बुधबार आफ्नो पनि २५ प्रतिशत सेयर स्वामित्व रहेको राष्ट्रिय बिमा कम्पनीसँग बिमा गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको छ।समझदारीपत्रमा कोषका प्रशासक गौतम र बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायमाझीले हस्ताक्षर गरेका छन्।यो योजना आउँदो १ मंसिरदेखि लागू हुने छ।सम्झौतापश्चात बिमा कम्पनीमा एकैपटक ठूलो मात्रामा प्रिमियम थपिएको छ ।

कोषले गर्न लागेको स्वास्थ्य बिमा योगदानमा आधारित नभई सबै सञ्चयकर्ताको एकमुष्ठ हो।सञ्चयकर्ता बिरामी भई अस्पताल भर्ना भएर उपचार गरेमा एक लाख रुपैयाँ र सरकारले जटिल रोग भनी तोकेका नौ प्रकारका रोग लागेमा १० लाख रुपैयाँसम्म उपचार खर्चको क्षतिपूर्ति बिमाले बेहोर्ने छ । सामान्य रोगका लागि अस्पतालमा भर्ना भएको खर्चमा १५ प्रतिशत काटेर सञ्चयकर्ताले दाबी भुक्तानी पाउने छ।घातक रोगका लागि भने औषधोपचारका लागि भएको वास्तविक खर्च वा १० लाख रुपैयाँमध्ये कम हुन आउने रकम प्रदान गरिने छ ।

सुविधा पाउन सञ्चयकर्ताले अस्पतालबाट डिस्चार्ज भएको ३५ दिन वा बिरामी भएको ६० दिनभित्र बिमा कम्पनीलाई जानकारी दिनुपर्ने छ।दाबी भुक्तानी पाउन भने आवश्यक कागजपत्रसहित अस्पतालबाट डिस्चार्ज भएको मितिले ६ महिनाभित्र सम्बन्धित कम्पनीमा पेश गरिसक्नु पर्नेछ।सो सेवा लिन योग्य भएको प्रमाणिकरण भने कोषले गरिदिनेछ ।

सामान्य रोगका लागि सञ्चयकर्ताले २५ हजारसम्मको दाबी भुक्तानी भने बिमा कम्पनीको शाखा कार्यालयबाट १५ दिनमा पाउन सक्ने छ।२५ हजारदेखि एक लाखसम्मको भुक्तानी केन्द्रीय कार्यालयबाट दाबी परेको ३० दिनभित्र गर्नुपर्ने छ।घातक रोगका लागि दाबी भुक्तानी परेको ४५ दिनभित्र केन्द्रीय कार्यालयबाट भुक्तानी लिन सक्ने व्यवस्था छ ।

Loading...