इन्धनको खपत आधा घटाउने गफ दिँदै केपी ओलीले उदघाटन गरेका बिजुली बस पुल्चोकमै थन्किए

काठमाडौँ, २७ कार्तिक । धेरैले टिप्पणी गर्छन प्रधानमन्त्री केपी शर्मा अाेली कामभन्दा गफ बढी गर्छन । सर्वसाधारणका यस्तै टिप्पणी र अाफ्नाे पनि बुझार्इले हाेला पछिल्लाे समय सिस्नुपानी नेपालले अाफ्नाे ब्यङ्ग्यात्मक देउसी गीतमा पनि उल्लेख गरे- ‘याे सरकारकाे दिमाग चल्छ अङ्ग किन चल्दैन ?’ प्रम अाेली भने त्यतातिर बालमतलव भन्दै कुर्लिरहेकै छन् । एक महिना अघि मात्र प्रधानमन्त्रीले चीनबाट ल्याइएका बिद्युतीय बसकाे उदघाटन कार्यक्रममा दिएकाे भाषण फेरि त्यस्तै टिप्पणीकाे विषय बनेकाे छ ।

प्रम अाेलीले विद्युतीय बसकाे उदघाटन कार्यक्रममा भनेका थिए कि अब देशमा इन्धनकाे खपत अाधा घट्छ । पाँच वटा विद्युतीय बस ल्याएर उनले त्यत्राे ‘ध्वाँस’ लगाएकाे सुनेर टिप्पणी गर्नेहरुले त त्यहीबेलै ‘अाेलीका हावा गफ’ भने । तर, केहीले भने हाेला कि भन्ने अाशा गरेका थिए । तर, एक महिना नबित्दै पाँच बस चलाएर अरु बस थपिने त कहाँ हाे कहाँ ती बस नै थन्किन पुगेका छन् । बस थन्किएसँगै प्रम अाेलीले उदघाटन भाषणमा देखाएका सपना पनि थन्किएका छन् । र अाेलीका गफाडी फन्डा थपिएकाे छ ।

महिनादिन अघि उपत्यकामा भित्र्याइएका पाँच वटा ‘बिजुली बस’ ललितपुरको पुल्चोकमै थन्किएका छन् । लुम्बिनी भ्रमण गर्ने पर्यटकलाई यातायातको सुलभ पहुँचका लागि ल्याइएको बस चढेर प्रम ओलीले औपचारिक उद्घाटन गरेका थिए । ती बसहरु एडिबीको आर्थिक सहयोगमा लुम्बिनी विकास कोषले किनेको थियो।

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउन्जेलसम्म काठमाडौं उपत्यकामा चलाउने गरी साझा यातायातले संयोजन गर्ने मौखिक सम्झौता भएको थियो। तर, लुम्बिनी विकास कोषले लिखित सम्झौता साझालाई नदिएको कारण सञ्चालनमा ल्याउन नसकिएको साझाका अध्यक्ष कनकमणि दीक्षितले बताए। ‘दसैं-तिहारले हुन सक्छ लुम्बिनी विकास कोषसँग लिखित सम्झौता हुन पाएको छैन, सम्झौताको पखाईमा छौं,’ उनले भने।

लुम्बिनी-काठमाडौं तथा अन्य जुनसुकै ठाउँमा बिजुलीबस परीक्षण तथा सञ्चालन गर्न साझा सदैव इच्छुक रहेको बताउँदै उनले भने, ‘नेपालको अर्थतन्त्र, जनस्वास्थ्य र वातावरणका लागि बिजुलीबस प्रयोग अपरहार्य छ।’

उद्घाटनका दिन प्रधानमन्त्री ओली, पर्यटनमन्त्री रविन्द्र अधिकारी, वनमन्त्री शक्ति बस्नेत, अर्थमन्त्री युवराज खतिवडा, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, काठमाडौं र ललितपुर महानगरपालिकाका मेयर, प्रहरी प्रमुख सर्वेन्द्र खनाललगायत उच्च पदस्थ सरकारी व्यक्तिहरुले पुल्चोकदेखि सिंहदरबारसम्म ‘बिजुली बस’ चढेका थिए। उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले विद्युतीय यातायात राष्ट्रिय कार्ययोजना लोकार्पण गरेका थिए। सोही कार्ययोजनाअन्तर्गत रहेर साझाले बिजुली बस चलाउने अध्यक्ष दीक्षितले बताए।

यो बस एकपटक पूरा चार्ज गरेपछि दुई सय किलोमिटर कुद्छ। पूरा चार्ज गर्न तीनदेखि चार घण्टा लाग्छ। चिनियाँ कम्पनी बिवाइडीको उक्त गाडी चालकसहित बसको सीट क्षमता २० रहेको छ। बसमा उभिएर यात्रा गर्दा ३५ जना अट्छन्।

वातावरणमैत्री बस अपागंमैत्री पनि छ। दुई वटा ह्विलचेयर राख्ने स्थान छ। ह्विलचेयर उकाल्न लिफ्ट राखिएको छ। सिसि क्यामरा, उभिएर यात्रा गर्नेको लागि ह्याङगरको सुविधा छ। गाडीको उच्च गति १०० किलोमिटर प्रतिघण्टासम्म छ। यसले १५० किलोवाट पावर र ५५० एनएम टर्क दिन्छ। यसको मूल्य प्रतिगोटा करिब २ करोड परेको थियो।

Loading...