प्रदेश सातका अर्का मन्त्री गलहत्याइए, मन्त्रीसँगै पार्टी सदस्यबाट समेत हटाइए मन्त्री सोडारी

काठमाडाैं, २७ कार्तिक । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रीबाट हटाइएका दीर्घ सोडारी थप पार्टीको कारबाहीमा परेका छन् । नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी बैठकले उनलाई कारबाही गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो ।

मंगलबार बेलुका बसेको प्रदेश कमिटीका पदाधिकारीको बैठकले पार्टी सदस्यबाट सोडारीलाई हटाउने निर्णय गरेको नेकपाका प्रदेश अध्यक्ष कर्ण थापाले बताए । ‘प्रदेश पदाधिकारी बैठकले उनलाई अनिश्चित कालसम्म पार्टीको साधारण सदस्यसमेत नहुने गरी कारबाही गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘पार्टीको नीतिअनुसार काम नगरेको पाइएपछि हटाइएको हो ।’

नेकपाका प्रदेश इन्चार्ज भीम रावलले अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा स्थायी समिति सदस्य लेखराज भट्टसमेत उपस्थित रहेका थिए । तत्कालीन एमाले कैलालीका अध्यक्ष रहेका सोडारी पार्टी एकीकरणपछि प्रदेश कमिटी सदस्यमा कार्यदलको सिफारिसमा परेका थिए ।

मंगलबार नै मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई सामाजिक विकास मन्त्रीबाट बर्खास्त गरेका थिए । उनको ठाउँमा नेकपाका सांसद कृष्णराज सुवेदीलाई नियुक्त गरेको छ । पदीय मर्यादाअनुरुप आचरण नदेखिएको भन्दै पार्टी नेतृत्वको निर्देशनपछि मुख्यमन्त्री भट्टले सोडारीलाई बर्खास्त गरेका हुन् ।

‘पदीय मर्यादाको आचरणमा रहेर काम गर्न नसकेपछि बर्खास्त गरिएको हो ।’ मुख्यमन्त्रीले भने, ‘संसदीय प्रकृयामा यसलाई स्वाभाविक लिनुपर्छ ।’ प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको सहमतीमा सोडारीलाई बर्खास्त गरिएको जनाइएको छ । उनी पार्टीभित्र विवादित बनेपछि मन्त्रीबाट हटाउने बारे सोमबार प्रधानमन्त्री, मुख्यमन्त्री भट्ट, नेकपाका प्रदेश इन्चार्ज भीम रावल, प्रदेश अध्यक्ष कर्ण थापाबीच छलफल भएको थियो ।

मन्त्री भएपछि अनुचित आर्थिक लाभ लिएको, योजना छनौटमा आफू निकट कार्यकर्तालाई ध्यान दिएको, आपराधमा संलग्नलाई संरक्षण गरेको, शक्तिको दुरुपयोग गरेको, महिलामाथि दुव्र्यवहार गरेको लगायत विषयमा सोडारीविरुद्ध प्रधानमन्त्रीसम्म सुचना पुगेको थियो ।

मन्त्रीविरुद्ध गुनासो र उजुरी बढ्दै गएपछि छलफल गर्न प्रधानमन्त्री ओलीले मुख्यमन्त्री भट्टलाई बोलाएका थिए । सोमबार बिहान काठमाडौं पुगेर उनले प्रदेश इन्चार्जको उपस्थितीमा प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।

मन्त्रीबाट बर्खास्त भएका सोडारीपछि नियुक्त भएका मन्त्री सुवेदीले मंगलबार नै पद तथा गोपनियताको सपथ लिएका छन् । सपथ ग्रहण लगत्तै उनले कार्यभार सम्हालेका छन् ।

Loading...