पूर्वका चर्चित गायक गंगालालमाथि यात्रुबसमा बसका स्टाफले नै यसरी गरे आक्रमण

धरान । मोरङको बेलबारी नगरपालिकामा आइतबार दिउँसो चर्चित गायक तथा लेखक गंगालाल श्रेष्ठ ‘बरदान’ माथि आक्रमण भएको छ।

बेलबारी २ स्थित घरबाट पत्नीसहित ना ५ ख २८९४ नम्बरको मिक्लुङ यातायातको बस चढेर धरानतर्फ जाँदै गर्दा बसका कर्मचारीले आक्रमण गरेको प्रहरीले जनाएको छ।

काँकडभित्ताबाट धरानतर्फ जाँदै गरेको बसका कन्डक्टर मोरङ उर्लाबारी नगरपालिकाका २० वर्षीय रोशन श्रेष्ठ, सहचालक झापाको दमक नगरपालिका १० का २१ वर्षीय सुजन श्रेष्ठले बेलबारीको लालभित्तीमा पुगेपछि कुटपिट गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले बताए। कुटपिटबाट गायक श्रेष्ठको कन्चट फुटेको छ भने निधारको बायाँ भाग सुन्निएको छ।

‘गम्भीर तरिकाले आक्रमण गरेको देखिन्छ,’ प्रनी राईले भने, ‘प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ।’ गायक श्रेष्ठमाथि कुटपिट गरेर भागेको यात्रु बस, बसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका ३ का २६ वर्षीय निरन घिमिरे र सहचालक श्रेष्ठलाई प्रहरीले मोरङको गछियाबाट नियन्त्रणमा लिएको छ। रोशन श्रेष्ठ भने फरार छन्।

आक्रमण हुन थालेपछि गायक श्रेष्ठ भागेर प्रहरी कार्यालयमा पुगेका थिए। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार थालिएको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सिटको विषयमा विवाद भएपछि कुटपिट भएको खुलेको छ।

लेखक श्रेष्ठ खचाखच यात्रु भरिएको बसमा उभिएर यात्रा गरिरहेका थिए। ‘बस्ने सिटसमेत नभएका कारण उभिएर यात्रा गरिरहेको थिएँ। बसमा सिट मिलाउन सकिंदैन भनेर मैले आग्रह गरेँ,’ उनले भने, ‘त्यत्तिकैमा बसका कन्डक्टर आएर गाली गर्न थाले। सम्झाउन थाल्दा एक्कासी आक्रमण सुरु भयो।’

भोजपुरको तुङ्गेछा गाविसमा जन्मिएका श्रेष्ठको छपनीले ‘छान छान, डबकीले हान’ लगायतका गीत चर्चित छन्।

Loading...