भारतमा जनयुद्ध गरिरहेको भाकपा माओवादीको महासचिवमा गणपतिको ठाउँमा वसवराज

काठमाडौँ । भारती कम्युनिस्ट पार्टी (माओवादी) ले नेतृत्व परिवर्तन गरेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार वर्तमान महाससचिव लक्ष्मण राव ‘गणपति’ को ठाउँमा केशव राव ‘बसवराज’लाई ल्याइएको छ ।

गणपतिले उमेर र स्वास्थ्यका कारण जिम्मेवारीबाट विदा लिएको बताइएको छ । उनको उमेर ७१ वर्ष पुगेको छ । यसअघि उमेर र स्वाथ्यका कारण जिम्मेवारी समाल्न नसक्ने नेताहरुलाई अबकाश लिने निर्णय माओवादीले गरेको थियो ।

बसवराज यसअघि सैन्य आयोगका प्रमुख थिए । उनको पनि उमेर ६० कटिसकेको बताइएको छ । उनी भाकपा (माओवादी) पार्टी निर्माणदेखि नै केन्द्रीय सदस्य र हाल पोलिटब्युरो सदस्य रहेको समाचारमा उल्लेख गरेको छ ।

जनमेलका अनुसार गत फेब्रवरीमा बसेको केन्द्रीय समिति बैठकले स्वेच्छिक किसिमले र पार्टीको आवश्यकताले ६० नाघेका नेताहरुलाई अबकास लिन सर्कुलरमार्फत आह्वान गरिएको थियो । जिम्मेवारी बहन गर्न नसक्ने वृद्ध नेताहरुलाई जनवर्गीय संगठनमा तथा साझा मोर्चाहरुमा जिम्मेवारी दिएर अनुभवलाई क्रान्तिमा लगाउने सर्कुलरमा उल्लेख छ ।

केन्द्रीय समितिले जारी गरेको सर्कुलरमा भनिएको छ, “शारिरीक र मानसिक सीमाहरू भएका कमरेडहरू जो आफनो जिम्मेवारीलाई आआफ्नो कमिटीमा ठीक ढङगले बहन गर्न सकिरहनुभएको छैन, उहाँहरूलाई उहाँहरूले लिँदै आउनुभएको जिम्म्मेवारीलाई निरन्तरता दिनुको साटो त्यहाँबाट अन्यत्र जिम्मेवारी दिन सकिनेछ । यसमा उहाँहरूलाई उहाँहरूले क्षमताले भ्याउने खालको जिम्मेवारी मात्र दिइनेछ । सम्बद्ध कमिटीहरूले उहाँहरूसित रहेको लामो अनुभवलाई तलका अन्य विविध कमिटीहरू, जनवर्गीय सङ्गठनहरू तथा यस्तै साझा मञ्च र अन्य क्षेत्रहरूमा जिम्मेवारी दिएर उहाँहरूको अनुभवको क्रान्तिमा उपयोग गर्नु आवश्यक छ । हामीले यस किसिमको निर्णय आन्दोलनको हित र सम्बद्ध बृद्ध कमरेडहरूको चाहनामा नै गर्न खोजेका हौँ । मानसिक र भौतिक दृष्टिले सीमाबद्ध कमरेडहरूले यो निर्णय कार्यान्यनका लागि अवश्य पनि क्रान्तिकारी स्पिरिट देखाउनु हुनेछ र कमरेडहरूले आफ्ना सीमाहरू आफैँले अनुभूत गरी आफूसम्बद्ध कमिटीबाट स्वैच्छिक किसिमले बिदा भएर आफूले गर्न सक्ने अन्य कामको जिम्मेवारी लिन आफैँ तयार हुने कदम चाल्नुहुनेछ । केन्द्र र राज्यका नेतृत्वमा रहेका कमरेडहरूले व्यवहारद्वारा यस किसिमको आदर्शको स्थापना गर्नुहुनेछ । पार्टीका यस्ता कमरेडहरूले जुनसुकै तहको जिम्मेवारी भए पनि वर्गसङ्घर्षको महत्वलाई आत्मसात गरेर आफ्नो चेतनालाई पार्टी र समाजको हितका लागि, कम्युनिस्ट मूल्य र सिद्धान्तलाई अगाडि राखेर समाजमा विद्यमान शोषण(उत्पीडनका विरुद्ध लडिरहनुहुनेछ र समाजको रूपान्तरणको अभियानलाई अगाडि बढाउन योगदान दिनुहुनेछ ।”

यो सर्कुलरसँगे पछिल्लो समाचारमा सत्य भएको हुनसक्ने भारतीयमा विश्लेषकहरुले बताएका छन् । यसबारे माओवादीले औपचारिक रुपमा केही बताएको छैन ।

भारतीय माओवादीमा महासचिव गणपति नक्सलबाडी आन्दोलनको विरासतसित बोकेका नेता हुन् । उनले भारतीय कम्युनिस्ट पार्टी (माले) पिपुल्स वारको नेतृत्व गरेका थिए । तेलङ्गना आन्दोलनदेखिको इतिहास बोकेको र विचार र अनुभवले खारिएको पुस्ता हो । यसलाई ऐकेडेमिक दृष्टिले पनि निकै समृद्ध टिम मानिन्छ ।

सन् २००४ मा बिहार–बङ्गालमा सक्रिय एमसिसीसँगको एकतादेखि नै भाकपा (माओवादी) को महासचिवको जिम्मेवारी समाल्दै आएका थिए ।

गणपतिका सहकर्मी पोलिटब्युरो सदस्य तथा गणपतिका उत्तराधिकारीको रुपमा हेरिएका चेरिकुरी राजकुमार ‘आजाद’ को सन् २०१० मा र प्रवक्ता मलौजा कोटेश्वर राव ‘किसनजी’ को २०११ म सरकारले हत्या गरेको थियो । गणपतिका पुस्ताका वरिष्ठ नेताहरु अजिथ, कोबाध गान्धी, बच्चाप्रसाद सिंह, वाराणसी सुब्रमन्ह्यम, अभिताव बाग्छी, पुलेन्दु मुखर्जी प्रमोद मिश्रलगायतका नेताहरु भारतका विभिन्न जेलमा छन् ।

माओवादीबारे नजिकबाट समाचार सम्प्रेण गर्दै आएका भारतीय संचारमाध्यमले गणपति वैचारिक तथा अध्ययनशील र नयाँ महासचिव बसबराज फौजी रणनीतिका योजनाकार भएको बताएका छन् । समाचारमा भारतीय माओवादीले फौजी कारवाहीलाई तीब्रता दिन सक्ने अनुमान गरिएको छ ।

भारतको आन्ध्रप्रदेशमा जन्मिएका बसबराज पार्टीमा पूर्णकालीन कार्यकर्ता हुनुअघि पेशाले इन्जिनिएर थिए ।

Loading...