अकुत सम्पती आर्जन गरेको भन्दै अदालतमा राजपाका महासचिव विरुद्ध अख्तियारको मुद्दा

काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय जनता पार्टी (राजपा) का महासचिव विनोद सिंहविरूद्ध अख्तियार अनुसन्धान अायाेगले विशेष अदालतमा मुद्दा दायर गरेकाे छ । उनले गैरकानुनी रुपमा अकुत सम्पती अार्जन गरेकाे भन्दै अायाेगले मुद्दा दायर गरेकाे हाे । 

गत कात्तिक १९ मा विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेपछि राजपा महासचिव सिंहले आफूमाथि पूर्वाग्रह राखेर मुद्दा दायर गरिएको प्रतिक्रिया दिएका छन्। तत्कालीन सहायक वन अधिकृत सिंहले गत प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको संघारमा वन सहायक अधिकृत पदबाट राजीनामा गरेका थिए।

पार्टीका एक पदाधिकारीले भने, ‘अख्यितारले विशेष अदालतमा मुद्दा दायर गरिसकेपछि उनले स्वतः राजीनामा गर्नुपर्ने हो । उनले राजीनामा नगरे पार्टीले माग्नुपर्ने हो।’ तर सिंहमाथि अदालतमा मुद्दा दायर गरिएको विषयमा राजपाले अहिलेसम्म केही प्रतिक्रिया दिएको छैन।

सिंहले भने अदालतमा मुद्दा दायर गर्नेबित्तिकै आफूले राजीनामा गर्नु नपर्ने बताउँछन्। उनले भने, ‘आरोप मात्र लगाइएको हो । प्रमाणित भएको छैन । प्रमाणित नहुँदासम्म पार्टीको महासचिव पदबाट राजीनामा गर्नु पर्दैन ।’ आरोप प्रमाणित भए आफूले राजीनामा गर्ने उनले बताए।

गत भदौमा राजपा अध्यक्षमण्डलका संयोजक ठाकुरले सिंहलाई महासचिवमा मनोनित गरेका थिए। सिंह अध्यक्ष भएका बेला उनले बबरमहलस्थित मधेसी कर्मचारी मञ्चको भवनलाई राजपाको पार्टी कार्यालय राख्न दिने निर्णय गरेका थिए। सोअनुसार, २०७४ असारदेखि राजपाको पार्टी कार्यालय बबरमहलमा सरेको छ।

मञ्चको भवन पार्टी कार्यालयलाई प्रयोग गर्न दिए वाफत सिंहलाई प्रतिनिधिसभा वा प्रदेशसभामा टिकट दिने, टिकट दिन नसके समानुपातिकमा मनोनित गर्ने मौखिक सहमति राजपा अध्यक्षमण्डल र मञ्चबीच भएको थियो । सो सहमतिअनुसार सिंहले सरकारी जागिरबाट राजीनामा दिएका थिए। सरकारी जागिरबाट राजीनामा दिएपछि मञ्चको अध्यक्ष पद पनि उनले छाडे । तर राजपाले उनलाई धोका दियो । न टिकट दियो न त समानुपातिकमा नै मनोनित ग¥यो । यसपछि सिंह पार्टी नेतृत्वप्रति आक्रोशित भएका छन्।

मञ्चका पदाधिकारीले बेलाबेलामा पार्टी कार्यालय खाली बनाउनुपर्ने अभिव्यक्तिसमेत दिँदै आएका थिए। मञ्चको बैठकमा पनि केही केन्द्रीय सदस्यहरूले पार्टी कार्यालय खाली गर्नुपर्ने तर्क उठाएपछि ठाकुरले सिंहलाई महासचिवमा मनोनित गरी कार्यालय भवन प्रयोग गर्न सहज र सुरक्षित बाटो अपनाएका थिए।

Loading...