अपर तामाकोसीमा सर्वसाधारणले न्यूनतम ४० कित्ता सेयर पाउने

काठमाडौं, २१ कार्तिक । माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीले सर्वसधारणका लागि खुला गरेको प्राथमिक निष्कासन (आईपीओ) तर्फ आवेदकले न्यूनतम् ४० कित्ताका दरले सेयर पाउने भएका छन्। बिक्री प्रबन्धक नागरिक लगानी कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीले मागभन्दा आवेदन धेरै परेकाले न्यूनतम् ४० कित्ताका दरले सेयर वितरण गरिने जानकारी दिएका हुन्। कम्पनीले कात्तिक १५ देखि १९ गतेसम्म आवेदनका लागि आह्वान गरेको थियो। एक अर्ब ५८ करोड ८५ लाख मूल्यको एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्कासन गरेको थियो।

मंगलबारसम्म आईपीओमा ६ अर्ब ७० करोड ५८ लाख रुपैयाँको तीन लाख ४६ हजार एक सय ६६ आवेदन परेको छ। यो मागभन्दा चार गुणा बढी हो। सर्वसाधारणले न्यूनतम् ५० कित्तादेखि एक हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। ‘मागभन्दा आवेदन धेरै परेको छ। आवेदनअनुसार सेयर वितरण गर्न सम्भव छैन’, कार्कीले भने, ‘योग्य आवदेकले न्यूनतम् ४० कित्ता सेयर प्राप्त गर्नेछन्।’

४० कित्ताको दरले सेयर वितरण गर्दा बाँकी हुने सेयरलाई गोलाप्रथाको माध्यमबाट वितरण गरिनेछ। गोलाप्रथाबाट छानिने सर्वसाधारणले थप १० कित्ता प्राप्त गर्ने उनको भनाइ छ। सर्वसाधारणबाट सेयर खरिद गर्न परेका आवेदनको अन्तिम सूची तयार गरेर अबको दुई साताभित्रमा बाँडफाँट गरिने उनले जानकारी दिए।

सञ्चयकोषका सञ्चयकर्ता र आयोजना प्रभावित स्थानीयले दोहोर्‍याएर आवेदन दिए/नदिएको पहिचान गरिनेछ। दोहोर्‍याएर आवेदन गर्ने सञ्चयकर्ता, प्रभावित स्थानीय र ऋणदाताले सर्वसाधरणका लागि खुलाइएको आईपीओमा आवेदन दिएमा उनीहरूको आवेदन खारेज हुनेछ।

कम्पनीले निर्माणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका लागि आईपीओ निष्कासन गरेको हो। यसअघि कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, ऋणदाता संस्थाका कर्मचारी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई एक करोड ८२ लाख ९९ हजार कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ। यस्तै आयोजनास्थल दोलखा जिल्लाबासीको लागि एक करोड पाँच लाख ९० हजार कित्ता सेयर निष्कासन गरी बाँडफाँट भइसकेको छ।

Loading...