अमेरिकामा नोभेम्बरमा मध्यावधि चुनाव हुँदै, ट्रम्पलार्इ बहुमत जोगाउन धौ धौ

काठमाडौँ । अमेरिकामा यही नोभेम्बर ६ मा मध्यावधि चुनाव हुँदैछ । प्रतिनिधिसभा, माथिल्लो सदन सिनेट र राज्यका गभर्नरका निम्ति चुनाव हुन लागेको हो ।

हाल दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमत छ । त्यही बहुमतमा जोगाउन कसरतमा छ, ट्रम्पको रिपब्लिकन पार्टी । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र चुनावी मत सर्वेक्षणमा रिपब्लिकन पार्टीले फेरि दुवै सदनमा बहुमत ल्याउन सक्ने देखिएको छ । चार सय ३५ सदस्यीय प्रतिनिधिसभामा हाल रिपब्लिकनको दुई सय ३५ र डेमोक्र्याटिक पार्टीको एक ९३ स्थान छ । सात स्थान रिक्त छ । यस पटक यी सबै स्थानमा चुनाव हुँदैछ ।

तर, एक सय सदस्य रहने माथिल्लो सदन सिनेटमा ३५ स्थानका लागि मात्र चुनाव हुँदैछ । अमेरिकी नीति निर्माणमा निकै महत्वपूर्ण मानिने सिनेटमा हाल रिपब्लिकन पार्टीको ५१, डेमोक्र्याटिक पार्टीको ४७ र स्वतन्त्र २ सिट छ । अमेरिकी सिनेटमा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यका लागि चुनाव हुने संवैधानिक प्रावधान छ । यस चुनावमा डेमाक्र्याटिक पार्टीले प्रतिनिधित्व गरेका २३, रिपब्लिकनले प्रतिनिधित्व गरेका आठ, स्वतन्त्र दुई र रिक्ता दुई स्थानका लागि चुनाव हुनेछ । त्यस्तै ३६ राज्य र तीन अधिकृत क्षेत्रमा गभर्नर पदका लागि चुनाव हुँदैछ ।

संसदको चुनावको नतिजा खासगरी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि अत्यन्त महत्वपूर्ण छ । रिपब्लिकन पार्टीले संसदमा बहुमत गुमाए ट्रम्पका धेरैवटा महत्वाकांक्षी योजना अलपत्र पर्नेछन् । डेमोक्र्याटले बहुमत हासिल गरेको खण्डमा राष्ट्रपति ट्रम्पमाथि दबाब थपिनेछ । सन् २०१६ को राष्ट्रपतीय चुनावका सम्बन्धमा भइरहेको छानबिनले नयाँ मोड लिनसक्छ । ट्रम्पमाथि संसदमा महाभियोगको प्रस्ताव समेत आउन सक्छ ।

शरणार्थी समस्याको फाइदा उठाउँदै ट्रम्प

ट्रम्पले चुनावी सभामा डेमोक्र्याट पार्टीका नीतिको कडा आलोचना गरिरहेका छन् । उदार अर्थव्यवस्था र आप्रवासबारे डेमोक्र्याटहरुको नीति मुलुकको हितमा नभएको उनको दाबी छ । होन्डुरसबाट पलायन भएका करिब सात हजार मानिस अमेरिका प्रवेश गर्ने भन्दै मेक्सिको–अमेरिका सीमातर्फ अघि बढिरहेका छन् । ट्रम्पले यसलाई चुनाव प्रचारबाजीको विषय बनाएका छन् । ती शरणार्थीको लस्करलाई डेमोक्र्याटले मद्दत गरेको उनको आरोप छ ।

अमेरिका प्रवेश गर्न चाहने यो समूहलाई रोक्न ट्रम्पले दक्षिणी सीमामा ठूलो संख्यामा फौज पठाएका छन् । उनले त्यसरी खटिने फौजको संख्या १५ हजारसम्म पुग्ने बताएका छन् । कुनै आप्रवासीले सैनिकमाथि ढुङ्गामुढा गरे गोली चलाउने आदेश दिइएको पनि ट्रम्पले बताएका छन् । अमेरिकामा जन्मिने आप्रवासीका सन्तानलाई नागरिकता दिने विगतको नीति पनि खारेज गर्ने चेतावनी दिएका छन् । विपक्षीले भने ट्रम्पले जनमानसमा शरणार्थीबारे डर र घृणा पैदा गरेर चुनाव जित्न खोजेको आरोप लगाएका छन् ।

कसले जित्ला चुनाव ?

फाइनान्सियल टाइम्सले गरेको पछिल्लो मतसर्वेक्षणमा दुवै सदनमा रिपब्लिकन पार्टीले झिनो बहुमत हासिल गर्ने सम्भावना देखिएको छ ।अमेरिकी सिनेटमा यसपटक चुनाव हुने ३५ मध्ये २३ स्थान डेमोक्र्याट पार्टीको छ । त्यसैले यो पार्टीलाई आफ्नो स्थान जोगाउने मात्र होइन, रिपब्लिकन सिट पनि फुत्काउनुपर्ने चुनौती छ । फाइनान्सियल टाइम्सका अनुसार ४३ स्थान डेमोक्र्याट र ४९ स्थान रिपब्लिकनको हातमा पर्ने सम्भावना छ ।

डेमोक्र्याटका तर्फबाट पूर्व राष्ट्रपति बाराक ओबामासहितका नेताले चुनावी अभियान सञ्चालन गरिरहेका छन् । विभिन्न सेलिब्रेटीले समेत जनतालाई मतदानमा सहभागी हुन अपिल गरेका छन् । केहीले आफूलाई मन परेको उम्मेदवार र नीतिलाई समर्थन समेत गरेका छन् ।

ट्रम्पले सकारात्मक आर्थिक सूचकांकको फाइदा लिन पनि सक्छन् । अमेरिकी अर्थतन्त्र ४.२ प्रतिशतले वृद्धि भइरहेको छ । बेरोजगारी दर घटेको । सेयर बजार निरन्तर उकालो चढिरहेको छ । पछिल्लो समय ट्रम्पले चीनसँग व्यापार युद्ध सुरु गरेका छन् । व्यापार युद्धको नकारात्मक असर अहिलेसम्म अमेरिकी बजारमा देखिइसकेको छैन । ट्रम्पका आर्थिक नीतिमाथिको जनमत सङ्ग्रहका रुपमा पनि यो चुनावलाई हेरिएको छ ।

ट्रम्पलाई रुचाउने अमेरिकीको संख्या भने घटिरहेको छ । ५० प्रतिशतभन्दा कमले मात्र उनलाई समर्थन दिएका छन् । यद्यपि अमेरिक जनमत पुनः एक पटक ट्रम्पको राष्ट्रवाद र आक्रामक प्रस्तुतितर्फ आकर्षित हुनसक्छ ।

अमेरिकी चुनावमा कतिपय नीतिलाई लिएर चर्को बहस, छलफल र विचारविमर्श हुनु अनौठो होइन । तर ट्रम्पले अमेरिकी जनतालाई विभाजित तुल्याएको आरोप लाग्ने गरेको छ । ट्रम्पको प्रभावले अमेरिकी समाजको जग नै विभक्त हुनथालेको विश्लेषण धेरैले गरिरहेका छन् । केही दिनअघि मात्र एक जना ट्रम्प समर्थकले डेमोक्र्याट पार्टीका नेताका घर तथा कार्यालयमा हुलाकमार्फत पाइप बम पठाएर आतंकित बनाए । अर्का एक व्यक्तिले पिट्सबर्गमा ११ जना यहूदीको गोली हानी हत्या समेत गरे । गोरा जातिको वर्चश्व गुम्दै गएकाले त्यसलाई पुनर्जीवित तुल्याउनु पर्छ भन्ने नश्लवादी समूहले बेलाबखत अमेरिकाभर जुलुस निकाल्न थालेका छन् । यस्ता समूहलाई ट्रम्पले समर्थन गर्दै आएका छन् । कैयौं प्रबुद्ध व्यक्ति, सेलिब्रेटी, नेता, समालोचक र मिडियामाथि उनले दिनरात ट्विटरमार्फत् कटाक्ष गरिरहेका छन् । यसले अमेरिकी समाजको आधारभूत सिद्धान्त र मान्यतालाई नै कठघरामा उभ्याएको विश्लेषण गरिँदै आएको छ ।

Loading...